खोटाङ, खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुवास्थित दुधकोसी किनारमा लाग्ने ऐतिहाँसिक माघे संक्रान्ति मेला रोकिएको छ ।
करिब २००७ सालभन्दा अघिदेखि लाग्दै आएको ऐतिहासिक मेला कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै स्थगित गरिएको हो । कोभिड–१९ को बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै रावाबेँसी गाउँपालिकाले ऐतिहासिक रभुवा मेलालाई रोक लगाएको हो ।
कोभिडको जोखिमलाई नियन्त्रण गर्नका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार रभुवा तथा अन्य धार्मिक तिर्थस्थलमा लाग्ने मेलालाई रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।
खोटाङ र ओखलढुंगाको सीमानामा लाग्ने मेलालाई जिल्लामा ऐतिहासिक मेला मान्ने गरिन्छ । माघे संक्रान्तिको दुई दिन अघिदेखि नै सुरु हुने र चाररपाँच दिनसम्म लाग्ने ऐतिहासिक मेला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीय थोकवस्तुको बिनिमय गर्ने माध्यमका रुपमा परिचित छ ।
माघे संक्रान्तिको अवसरमा दुधकोसीमा मकर नुहाउने र मेला भर्ने स्थानीयको भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।
तपाइँको प्रतिक्रीया