काठमाडौँ : प्रदेश २ को राजधानी जनकपुर र प्रदेशको नाम मधेस पारित भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको राजधानी जनकपुर र नाम मधेस प्रदेश बहुमतले पारित गरेको हो । यिनै विषयमा मधेस प्रदेश सर्लाही क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य उपेन्द्र महतोसँग एनडिसीखबर कर्मी रमन वनले गरेको अन्तर्वार्ता :
– प्रदेशको नामांकन भएको छ, यसप्रति के छ तपाईँको धारणा ?
“सबै भन्दा पहिले चैँ हामी सम्पूर्ण प्रदेशवासीहरुलाई बधाई दिन्छु, जुन आन्दोलन भएको थियो, भावना अनुरुप ऐतिहाँसिक काम भएको छ, संवैधानिक व्यवस्था अनुसार दुई तिहाई मतले संसदबाट पारित भएको छ”
– प्रदेशको नाम र राजधानी टुंगो लगाउनका लागि कत्तिको संघर्ष गर्नुपर्यो ?
“नाम र राजधानी राख्नको लागि यस अघि पनि हामीले प्रयास गरेको थियौँ, तर पनि सहमती जुट्न सकेन्, मधेस आन्दोलनका भावनालाई साकार पार्नका लागि सबै पार्टीका मान्य ज्यूहरुलाई हामीले आग्रह गरेका थियौँ सोही अनुरुप मधेस प्रदेश र जनकपुर राजधानी कायम गरिदिनुभएकोमा धन्यवाद दिन चाहन्छौँ”
– नाम र राजधानी त टुंगो लागेको छ, अब तपाईँहरुको योगदान चैँ कस्तो रहन्छ ?
“सब भन्दा पहिला त के हुन्छ भने, नेपालमा जुन संघियता आएको छ, संघियताको उद्गम स्थल नै हाम्रो प्रदेश हो, यो प्रदेशलाई अधिकार सम्पन्न र सबै प्रदेश भन्दा उत्कृष्ट बनाउने हाम्रो लक्ष हो”
– खासमा राजधानी जनकपुर र प्रदेशको नाम मधेश नै राखिनुको कारण के हो ?
“यो मधेस प्रदेशमा आठ ओटा जिल्ला रहेका छन्, जनकपुर सबै जिल्लाको सेन्टरमा पर्छ, एउटा ऐतिहाँसिक सांस्कृतिक ठाउँलाई चै हामी प्रदेशको राजधानी बनाएका छौँ, जसकारण यो ठाउँले सम्मान पाएको छ”
– प्रदेश दुईमा त अन्य जातजातिको पनि वसोवास रहेको छ, तर तपाईँहरुले मधेस प्रदेश नै नामांकन गर्दा जातीय समानता होला र ?
“नेपाल अधिराज्यमा सबै जातजाति मिलेर बसेको छ, जसरी सबै जातजातिहरुलाई समानुपातिक हिसाबले प्रतिनिधित्व गराइन्छ, त्यसैले यो प्रदेशमा रहेका सबै जातजातिहरुलाई समावेशी हिसाबले, समानुपातिक हिसाबले हरेक क्षेत्रमा प्रतिनिधित्व चैँ गराउँछौ”
– समृद्ध प्रदेश निर्माणका लागि आगामी दिनमा कसरी अगाडी बढ्नुहुन्छ ?
“प्रदेशमा धेरै नियम कानुनहरु बन्नेक्रममा रहेको छ, जारी नै छ, हाम्रो प्रदेश संघियताको जननी भएकाले अन्य सबै प्रदेशको आसा, विश्वास यही प्रदेशमा छ त्यसैले मधेश प्रदेशले अधिकार पाएमा सबै प्रदेशले पाउँछ, किन भने विगतमा पनि अन्य प्रदेशहरुले बोल्न नसकिरहेको अबस्थामा मधेस प्रदेशको हामीले संसदमा विभिन्न कानुनहरु बनायौँ, त्यसैलाई अनुसरण गर्दै अन्य प्रदेशहरुले पनि बनाए, त्यसैले मधेस प्रदेश सफल भएमा यो देशमा संघियता रहन्छ भन्ने एउटा मान्यता रहेको छ र त्यो मान्यतालाई चैँ हामी स्थापित गछौँ”
– समयमै प्रदेशको नामाकरण त हुन सकेन नि ?
“विगतमा हामीसँग दुई तिहाई थिएन, र त्यो दुई तिहाई बनाउनका लागी हामीलाई समय लाग्यो, ढिलै भए पनि प्रदेशले एउटा सम्मानजनक नाम पाएको छ, पहिचानको आधारमा नाम पाएको छ हामी त्यसैमा खुशी छौँ”
तपाइँको प्रतिक्रीया