आगामी माघ ७ गते हुने भनिएको नेपाल इन्जिनियर एशोसिएसनको निर्वाचन स्थगित भएको छ । देशव्यापी रुपमा कोरोना महामारीको संक्रमणदर उच्च देखिएपछि इन्जिनियर एशोसिएसनको निर्वाचन पनि स्थगित भएको हो । निर्वाचनको तयारीमा प्रतिस्पर्धा सहित लागि परेका उम्मेद्वारहरुमा निर्वाचन स्थगित भएपश्चात निरासा छाएको छ । शैलेन्द्रप्रसाद श्रेष्ठ सिदार्थनगर नगरपालिकामा करिब २० वर्षदेखि सिनियर इन्जिनियरको रुपमा कार्यरत हुनुहुन्छ । १० वर्ष एकिकृत सहरी विकाश आयोजना र क्षेत्रिय सहरी विकाश आयोजनामा काम गरेर रिटायर हुनुभएका श्रेष्ठले नेपाल इन्जिनियर्स एशोसिएसनको आसन्न ३३ औं अधिवेशनमा लुम्बिनी प्रदेशबाट सभापति पदका लागि उम्मेद्वारी दिनुभएको छ । उहाँले सिडेन डेमोक्रेटिक प्यानलबाट उम्मेद्वारी दिनुभएको हो । निर्धारित समयमा निर्वाचन हुन नसक्नुमा तपाईँलाई कस्को दोष हो जस्तो लाग्छ ? यिनै विषयमा नेपाल इन्जिनियर्स एशोसिएसनका सभापति पदका प्रत्यासी डा. शैलेन्द्रप्रसाद श्रेष्ठसँग एनडिसीखबर कर्मी रमन वनले गरेको अन्तर्वार्ता :
– निर्वाचन स्थगित भएको छ, यसप्रति तपाईको धारणा के ?
“अब यो छैटौँ पटक स्थगित भयो, गत फागुनदेखि हो हामी चुनावमा लागेको अब यसरी पटक, पटक चुनाव स्थगित हुनु दु:खद कुरा हो, महामारीले नै स्थगित हुनु चैँ तपाईँ हामीले सहनुपर्ने कुरा भयो तर यहाँ विनाकारण स्थगित भएको छ, यसको जिम्मा चैँ नेपाल इन्जिनियर एशोसिएसनका बर्तमान अध्यक्ष, उपाध्यक्ष लगायतको टिमले लिनुपर्छ”
– चुनाव के कारणले सर्यो जस्तो लाग्छ तपाईँलाई ?
“चुनाव सर्नुको कारण ठ्याक्कै चैँ थाहा भएन्, राष्ट्रिय राजनितिले पनि यसलाई असर पारेजस्तो मलाई लाग्छ, राष्ट्रिय राजनितीमा मन्त्रिपरिषद परिवर्तन, पार्टी विभाजन जस्ता कार्य नै मुख्य कारण हो जस्तो लाग्छ, उहाँहरु विभाजित हुनुभयो, विभाजित भइसके पछि एशोसिएसनको निर्वाचन सरेको जस्तो लाग्छ, हामी भैरहवामा छौँ केन्द्रमा के हुँदै छ थाहा हुँदैन, निर्वाचन समयमा गरिनुपर्छ भनेर धेरै पटक माग पनि गर्यौँ, एशोसिएसनका अध्यक्ष तथा निर्वाचन समितीका संयोजकहरुले पटक, पटक चुनाव सार्ने सुचना प्रकाशन गर्दै सार्ने काम भइरहेको छ, हामीलाई त असाध्यै नमजा लागेको छ, अहिले पनि हुन्छ कि भन्ने आशा थियो, ओमिक्रोनको प्रतिकुल असर नदेखिएको र २५ जना भन्दा कम उपस्थितीमा चुनाव गर्न सकिन्थ्यो, तर पनि गर्न चाहेनन्, स्थगित गर्न तर्फ अग्रसर भएकोमा म लगायतका सम्पूर्ण उम्मेद्वारहरुलाई दु:ख लागेको छ”
– बैकल्पिक विधि खोज्न नसक्दा चुनाव सरेको हो त ?
“प्रविधिको कुराहरु त हामी जस्तो इन्जिनियरहरुले अरुभन्दा पहिला प्रयोग गर्नुपर्ने कुरा हो, अब त्यो के कारण लागु हुन सकेन् यो चैँ केन्द्रको नितिमा भर पर्ने कुरा भयो, अहिले त घरै बसेर पनि भोटिङ गर्न सकिने व्यवस्था रहेको छ, किन भने एउटा व्यक्तिको खाताबाट अर्को व्यक्तिको खातामा पैसा पठाउन मिल्छ भने एउटा भोट हाल्न नमिल्ने भन्ने त कुरै आउँदैन् तर अहिले केन्द्रमा जुन पदाधिकारीहरु हुनुहुन्छ उहाँहरुले शुक्ष्म विश्लेसन गरेर प्रतिपक्षका साथीहरुलाई पनि विश्वासमा लिएर के गर्दा राम्रो हुन्छ भन्ने कुरामा निर्णय गर्न सकेको भए चुनाव हुने पक्का थियो, तर उहाँहरुले चैँ अरु प्रतिपक्षका साथीहरुलाई विश्वास पनि दिलाउन सक्नु भयो कि भएन् त्यसैले चुनावको मिति पछि सरेको हो”
– निर्धारित समयमा निर्वाचन हुन नसक्नुमा तपाईँलाई कस्को दोष हो जस्तो लाग्छ ?
“यसमा दोष त निर्वाचन पक्षका पदाधिकारीहरु हुनुहुन्छ, उहाँहरुकै हो, किनभने हामीलाई अहिले नै भनेको खण्डमा पनि तयार छौँ तर निर्वाचन गराउनुको सट्टामा सार्ने काम मात्र भइरहेको छ”
-यसरी पटक पटक निर्वाचनको मिति सर्दा उम्मेद्वारहरुमा कस्तो खालको असर पर्छ ?
“हामी उम्मेद्वारमा पर्ने असर भन्दा पनि नेपालमा प्रजातन्त्र ल्याउनका लागि लडेको संस्थालाई चैँ ठुलो असर पर्दछ, हामी उम्मेद्वारहरु त पर्खेर नै बसौँला, केही समयको पर्खाई पछि निर्वाचन होला, चुनाव मिति सर्दै जाँदा हामीलाई पर्ने असर भन्दा पनि एशोसिएसनको जुन गौरव छ, त्यसमा आघात परेको छ, त्यसमा हामीलाई चिन्ता लागेको छ, एशोसिएसनका पदाधिकारीहरुलाई तुरुन्त निर्वाचन गराउँनका लागि म अहिले पनि अनुरोध गर्न चाहन्छु”
तपाइँको प्रतिक्रीया