२०८१ भाद्र २४ सोमबार

हाइड्रोपावर दुर्घटना अप्डेट : एकको अवस्था अझै अज्ञात, घाईतेलाई काठमाण्डौँ लगियो

  • २०७८ माघ १३ बिहीबार

सुवास दर्नाल, सोलुखुम्बु : निर्माणधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत् आयोजनाको सुरुङ मार्गको दुर्घटनाका घाईतेलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

पर्सा जिल्ला पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो ।

दुर्घटना लगत्तै एम्बुलेन्स मार्फत मिसन अस्पताल ओखलढुंगा पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि फिस्टेल एयरको हेलिकप्टर मार्फत काठमाण्डौ लगि ग्रान्डि अस्पतालमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा अर्का एक कामदार करिब १५ घण्टा देखि वेपत्ता रहेका छन् ।

आज (बिहिवार) बिहान थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना कामदार हराइरहेको र १ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेको घटना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

बिहान ५ बजेको समयमा सुरुङ भित्र पेनस्टक पाइप बिछ्या्उन जानेक्रममा निर्माण सामाग्री सहित चार जना कामदार चढेको बकेट बीचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ ।

अन्य २ जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि अन्य सुरुङ भित्र रहेका निर्माण सामाग्रीहरुका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ ।

खोजी कार्यका लागि १४ जना प्रहरी र १२ जना नेपाली सेना परिचालित रहेको प्रहरी नायब उपरिक्षक डिएसपी कवित कटवालले जानकारी दिनुभयो ।

सुरुङ मार्ग भित्र मानिसका साथै निर्माण सामाग्रीहरु ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ ।-फायल तस्विर