२०८१ असार ६ बुधबार

नेपालका दशनामी- संन्यासी जातिको इतिहास

  • २०७८ माघ १५ शनिवार

पिठहरु
शंकराचार्यको जन्म वि.सं. ८४५ (७८८ई.) मा दक्षिण भारतको केरल स्थित कालाडी ग्राममा ब्राम्हण कुलमा भएको थियो । आठ वर्षको उमेर देखि नै शिक्षा हासिल गर्न थालेका शंकराचार्यको दीक्षा गुरु गोविन्दाचार्यबाट भएता पनि शिक्षा गुरु गौडपदलाई नै मान्ने गरिन्छ । सानैदेखि तिक्ष्ण बुद्धि भएका शंकराचार्यलाई शिवको अवतारको रुपमा  मानिन्थ्यो ।

उनको कृति तथा ग्रन्थहरुमा वेदान्तसूत्रभाष्य, उपनिषद्भाष्य , गिताभाष्य, पञ्चदशी हुन भने दार्शनिक आध्यात्मिक विचारमा (१) शब्द स्वत प्रमाण, (२) ब्रम्हा नै एक मात्र सत्य (३) जीव तथा अविद्या (४) जगत मिथ्या (५) माया (जादु/छल) (६) मुक्ति (७) प्रत्छन्न बौद्ध आदि सवालहरुमा धारणा/विचार व्यक्त गरेका थिए ।

शंकराचार्यले समस्त शैव धर्मावलम्बीहरुलाई अन्धविश्वास, तन्त्रमन्त्र, कर्मकाण्ड र रुढीवादमा सीमित नभई ज्ञान, ध्यान, योग, तपस्या, तर्क र अध्ययनमा लाग्न प्रेरित गरेका थिए । उनी आफ्नो समयको एउटा दार्शनिक तथा आध्यात्मिक चिन्तक नै थिए । उनीबाट प्रभावित हजारौँ  संन्यासीहरुलाई अझ व्यवस्थित र संगठित गर्न शुरुमा चार जना शिष्य बनाई चारओटा मठमा नियुक्त गरेका थिए ।

(क) पीठ
शंकराचार्यले गौडाचार्यबाट शैव धर्मको शिक्षा लिएका थिए । उनको समयमा भारतभरी नै हिन्दु धर्म गतिहीन अवस्थामा थियो र बौद्ध धर्मको बिगबिगि थियो । हिन्दु जातिवादले समाज थिलथिलो थियो र आपसमा मेल थिएन । शंकराचार्यले बुझे यही अवस्था रहेमा भारत वर्षबाट हिन्दु धर्म लोप हुनेछ ।

लोप हुन लागेको हिन्दुधर्मलाई बचाउनुपर्छ भन्ने भावना उनको मनमा जाग्यो । हिन्दु जाति प्रथाबाट टाढा रहेर स्वतन्त्र आश्रम सञ्चालन गरिरहेको शैवमार्गी संन्यासीमा उनको नजर परेकाले नै संन्यासी बनेका थिए ।

त्यसपछि उनले ती आश्रमहरुमा गएर बौद्ध भिक्षुहरुसँग शस्त्र र शास्त्रले भिड्न, शिष्य मण्डलीहरु बनाउन थाले। तिनै मण्डलीहरुलाई संगठित गर्न, परिचालन गर्न र परम्परालाई सदाकायम गरिराख्न भारतका चार दिशामा रहेका प्रसिद्ध धामहरुमा पीठहरु स्थापना गरिएका थिए ।

दशनामी संन्यासीहरुको धार्मिक संरचनाको सर्वोच्च निकाय पिठ हो। चार ओटै पिठहरुका प्रमुखहरु (शंकराचार्य) धार्मिक तथा आध्यात्मिक क्षेत्रमा अत्यन्त पुजनीय हुन्छन् । धार्मिक क्षेत्रमा विवाद र बाझिएका प्रश्नहरुको हल खोज्ने अधिकार पिठाधिसहरुलाई हुन्छ । शंकराचार्यको देहान्तपछि चारवटा पिठका प्रमुखहरुको पदवीलाई ‘शंकराचार्य’ भन्न लागियो ।

शंकराचार्यको पदवी आजन्म धारण गर्न पाइन्छ । शंकराचार्यहरुको छनौट सोही पीठका संन्यासीहरुमध्येबाट गरिन्छ । नेपाल र भारतका विभिन्न ठाउँहरुमा रहेका मठ, मन्दिर, अखडा र संन्यासीहरु चार पीठ अन्तर्गत नै रहनुपर्ने परम्परा रहेको छ । यिनै चारपीठ अन्तर्गत नियुक्त भएका दश पदहरु– तीर्थ, आश्रम, वन, अरण्य, गिरी, पर्वत, सागर, पुरी, सरस्वती, भारती नै पछि आएर दशनामी संन्यासी परम्पराका थरको रुपमा विकसित हुन पुग्यो ।

१. शारदा पिठ
पश्चिम भारतको गुजरात प्रान्तको प्रसिद्ध द्वारीका धाममा शारदा पिठको स्थापना गरेर शंकराचार्यले आफ्ना चेला स्वामी हस्तामलकलाई ‘पिठाधीश्वर’को जिम्मेवारी सुम्पेका थिए । स्वामी हस्तामलकलाई विश्वरुपाचार्य पनि भनिन्छ । शारदापीठको वास्तविक नाम ‘शारदा मठाम्नाय’ हो । यस पीठको महावाक्य ‘तत्वमसि ब्रम्ह’ हो ।

स्वामी हस्तामलकको सहयोगार्थ दुईजना संन्यासीहरु–गौतम तिर्थ र अनन्त आश्रमलाई पनि सहयोगीको रुपमा पठाइएको शारदा पीठ अन्तर्गतका त्यसपछिका संन्यासीहरुले तीर्थ र आश्रम नामका दुईवटा पद (थरको रुपमा) धारण गर्न थाले ।

यिनीहरुको मुख्य गोत्र अविगत हो भने मुख्य अधिष्ठात्री देव सिद्देश्वर र मुख्य अनुधिष्ठात्री देवी भद्रकाली हुन् । यस सम्प्रदायलाई ‘किटवार’ र ब्रम्हाचारीलाई ‘स्वरुपक’ भनिन्छ । यस सम्प्रदायको मुख्य तीर्थस्थल गोमती हो भने मुख्य वेद सामवेद र पठनिय उपनिषद् ‘छन्दोग्योपनिषद्’ हो ।

२. गोवर्धन पिठ
पूर्वि भारतको उडिसा प्रान्तमा पर्ने प्रसिद्ध जगन्नाथपुरी धाममा गोवद्र्धन पिठको स्थापना गरेर शंकराचार्यले आफ्नो चेला स्वामी पदमपादलाई पिठाधिशको जिम्मेवारी सुम्पेका थिए । स्वामी पदमपादलाई ‘पदमपादचार्य’ पनि भनिन्छ । गोवर्धन पीठको वास्तविक नाम ‘गोवर्धन मठाम्नाय’ हो ।

यस पीठको महावाक्य ‘प्रज्ञानब्रम्ह’ हो । स्वामी पदमपादको सहयोगार्थ दुईजना संन्यासीहरु वशिष्ट वन र शम्भु अरण्यलाई पनि पठाइएकोले गोबर्धन पिठका त्यसपछिका संन्यासीहरुले वन र अरण्य नामका दुईवटा पद (थर) धारण गर्न थालिएको हो । यिनीहरुको मुख्य गोत्र काश्यप हो भने मुख्य अधिष्ठाता देव जगन्नाथ र मुख्य अधिष्ठात्री देवी बिमला हुन् । यस सम्प्रदायलाई ‘भोगवार’ र ब्रम्हचारीलाई ‘प्रकाश’ भनिन्छ य सप्रप्रदायको तिर्थस्थल महोदधि हो भने मुख्य वेद ऋग्वेद र पठनीय उपनिषद्कौषीतकी र ऐतरेयोनिषद् हो ।

३. ज्योर्तिपीठ
उत्तर भारतको उत्तराञ्चत राज्यमा पर्ने प्रसिद्ध पर्ने बद्रीनाथ धाममा ज्योर्तिपीठको स्थापना गरेर शंकराचार्यले आफ्ना चेला त्रोटकलाई पीठाधिशको जिम्मेवारी सुम्पेका थिए । स्वामी त्रोटकलाई ‘त्रौटकाचार्य’ पनि भनिन्छ। ज्योर्तिपिठको वास्तविक नाम ‘ज्योर्तिमठाम्नाय’ हो । यसका ‘बद्रिकाश्रम’ पनि भनिन्छ । यस पीठको महावाक्य ‘अयमात्मा ब्रम्ह’ हो ।

स्वामी त्रोटकको सहयोगार्थ तीन जना संन्यासीहरु–नारायण गिरी, राम सागर र पूर्ण पर्वत नामका तीनओटा थर (पद) धारण गर्न थालिएको बुझिन्छ । यिनीहरुको मुख्य गोत्र भृगु हो भने मुख्य अधिष्ठाता देव नारायण र मुख्य अधिष्ठात्री देवी पूर्णागिरी हुन् । यस सम्प्रदायलाई ‘आनन्दवार’ र ब्रम्हचारीहरुलाई ‘आनन्द’ भनिन्छ । यस सम्प्रदायको मुख्य तिर्थस्थल ‘अलकनन्दा’ हो भने मुख्य वेद ‘अथर्व वेद’ पठनिय उपनिषद््मा मुण्डकोनिषद्, प्रश्नोपनिषद तथा माण्डूक्योपनिषद् हो ।

४ श्रृंगेरी पीठ
दक्षिण भारतको प्रसिद्ध धाम रामेश्वरम्मा स्थापना गर्ने लक्ष्य लिएको भए पनि शंकराचार्यले कर्णाटक प्रान्तको श्रृंगेरी पहाडमा स्थापना गरेको पहिलो मठ ‘श्रृंगेरी मठाम्नाय’ लाई नै पछि श्रृंगेरी पीठ भनिएको हो । उनको प्रिय चेला सुरेश्वरले शंकराचार्यको देहान्त भएपछि सो पीठको पिठाधिशको जिम्मेवारी सम्हालेका थिए । स्वामी सुरेश्वरको अर्को नाम ‘पृथ्वीधराचार्य’ पनि हो ।

श्रृंगेरी पीठको महावाक्य ‘अहम ब्रम्हास्मि’ हो। स्वामी सुरेश्वरको सहयोगार्थ तीन जना संन्यासीहरु परमानन्द सरस्वती, हस्तामलक भारती र नित्यानन्द पुरी पनि पठाइएकोले श्रृंगेरी पीठका त्यसपछिका संन्यासीहरुले सरस्वती, भारती र पुरी नामका तीन ओटा थर (पद)हरु ग्रहण गर्न थालिएको हो ।

यिनीहरुको मुख्य गोत्र भुर्भूवः हो भने मुख्य अधिष्ठाता देव ‘आदिवराह’ र मुख्य अधिष्ठात्री देवी कामाक्षी हुन् । यस सम्प्रदायलाई ‘भुरिवार’ र ब्रम्हचारीहरुलाई ‘चैतन्य’ भनिन्छ । यस सम्प्रदायको मुख्य तिर्थस्थल तुंगभद्रा र मुख्य वेद यजुर्वेद हो । पठनिय उपनिषद्हरुमा तैतिरीयोपनिषद्, कठोपनिषद् र बृहदारण्यकोपनिषद् हो ।

९. मठ
शंकराचार्यद्वारा स्थापित ४ वटा पिठहरु दशनामी संन्यासीहरुको सर्वोच्च निकाय हो। उक्त पिठका प्रमुख (पिठाधिस) शंकराचार्य नाम, पदबाटै कहलाइन्छ । शंकराचार्यको देहान्तपछि चारै पीठमा प्रतिस्थापित गरिएका प्रथम शंकराचार्यहरुले भारतमा ५२ वटा मठहरु स्थापना गरेका थिए । नेपाल तथा भारतमा शंकराचार्यभन्दा धेरै अगाडि पौराणिक कालको शुरुवातबाटै मठहरु स्थापित र सञ्चालित हुँदै आएको थियो ।

शंकराचार्यको समय आठौं शताब्दिपछि पनि धार्मिक तथा आध्यात्मिक प्रभाव जमाउन सफल भएका संन्यासीहरुले पनि अनेकौं मठहरु स्थापना गरेको पाइन्छ । समग्रमा कुनै तिर्थस्थल, मन्दिर वा धर्मक्षेत्रका रुपमा स्थापना भएका आध्यात्मिक केन्द्रहरुलाई मठ भनिन्छ । मठहरुमा गृहस्थी छोडेर आएकाहरुलाई संन्यास दिने र विधिवत धार्मिक तथा आध्यात्मिक शिक्षा दिने कार्य हुन्छन् ।

मठ पिठभन्दा मुनीको संरचना अनुसार दोस्रो तहको रुपमा मानिन्छ तर पछिल्लो समय यसको संरचनाको भेदलाई ठीकसँग ज्ञात गर्न नसक्दा पिठहरुलाई पनि मठहरुकै रुपमा बुझ्ने र उल्लेख गर्ने गरेको पाइन्छ । यक्षमल्लको पालामा निर्मित भक्तपुरको दत्तात्रय मन्दिरसँगै दत्तात्रय पुजारी मठ रहेको छ । मठको गद्दि बैठक कक्षका भित्ताहरुमा आजभन्दा ६०० वर्ष पुरानो बहुमुल्य चित्रहरु (विष्णुको दश अवतार, अष्टमात्रृका, महिषासुर बध) अंकति रहेको छ । दत्तात्रय पुजारी मठका प्रमुखलाई पिर महन्त भनिन्छ ।

पिर महन्तलाई देशभरीका दशनामी संन्यासी परम्पराका महन्तहरुको प्रमुख मान्दै आउने चलन रहेको छ । दशनामी संन्यासी परम्पराका महन्तका प्रमुखलाई पिर महन्त, त्यसभन्दा तल शिर महन्त र प्रत्येक मठका प्रमुखलाई महन्त भन्ने प्रचलन रहेको छ ।  नेपालमा पशुपतिनाथ हुँदै स्वर्गद्वारी देखि हलेसीसम्म हजारौं मठहरु रहेका छन् ।

मठ तालिका

१०. अखडा
शैवधर्मावलम्बी अन्तर्गत आइपरेको कठिनाइलाई कुनै एक वा दुई जनाको मात्र बलले पार लगाउन सक्ने परिस्थिति नभएकोले समूहमा एकत्रित भई एकै ठाउँमा बसी विरोधीहरुलाई परास्त गर्न सकिने भएकाले दशनामी संन्यासीहरुले समूहलाई एकत्रित गर्ने केन्द्रहरु निर्माण गरेका थिए ।

ति केन्द्रहरुमा शास्त्र तथा शस्त्र दुवै चिजले संन्यासीहरुलाई दिक्षित गरिन्थ्यो, त्यही ठाउँ (केन्द्र) लाई अखडा भनिन्छ । शंकराचार्यको समयमा बौद्ध धर्मको जहाँतही अधिक विगविगि रहेको र शास्त्रार्थले मात्र टिक्न नसकिने भएपछि अखडाहरु स्थापना हुन थालेको बताइन्छ ।

अखडामा धर्म र संस्कार बाहेक आफ्नो कुनै पृथक लोभ नभएका संन्यासी नाँगा बाबाहरु मात्र रहने गर्दछन् । तिनीहरुले व्यक्तिगत लोभ लालचका रुपमा अत्यन्त आवश्यक पहिरीनु पर्ने वस्त्र समेत त्याग गरिसकेका हुन्छन् ।

त्यो समयमा जतिबेला धर्मरक्षार्थ अखडाहरु स्थापना भए त्यसबेला समाजका अन्य सम्प्रदायबाट पनि धर्मरक्षाका लागि आफूलाई नाँगा सैनिक घोषणा गर्दै अखडामा लामबद्ध हुने होडबाजी नै चलेको थियो ।

यसबाट धर्म सैनिकहरुको संस्था र संख्या उल्लेख्य रहेको थियो भन्ने कुरा सहज अनुमान गर्न सकिन्छ । अखडामा बस्ने साधुहरु पूर्ण रुपमा त्यागको भावनाबाट दिक्षित भएका हुन्छन्, उनीहरुले बचाउनु पर्ने र लोभ गर्नुपर्ने चिज भनेको धर्म बाहेक अरु केही हुँदैन । त्यस्ता त्याग र बलिदानका प्रयोग बनेका धर्म सैनिहरु बस्ने स्थानको नाम अखडा हो ।

अखडाका प्रमुख व्यक्तिका रुपमा श्रीमहन्त छानिएका हुन्छन् । अखडा भित्रको सम्पूर्ण व्यवस्थापन, परिचालनमा श्रीमहन्तको मातहतमा विभिन्न जिम्मेवारी लिएका अनेक पद र साधुसन्तहरु समेतको वैज्ञानिक विभाजनद्वारा अखडाहरु सञ्चालन गरिएको हुन्छ ।

अखडाहरुमा श्रीमहन्तको नेतृत्वमा महन्त (श्रीमहन्तको सहायक) भण्डारक तथा संगठनको जिम्मेवारी लिने कोतवाल जस्ता जिम्मेवारी पदहरु हुन्छन् । अखडाहरुमा प्रशस्त शस्त्रअस्त्र, यातायातका साधनहरु, घोडा जस्ता अनेक साधन तथा सम्पत्तिहरु हुन्छन् ।

ती अखडाका सञ्चालनमा राज्यले समेत प्रशस्त सहयोग गरेको हुन्छ । अखडाहरुको सजधज, महत्वकासाथै सामुहिक प्रदर्शन कुंभ मेलाहरुमा विशेष गरी देख्न सकिन्छ । हाल अखडाहरु नेपालमा एकाध र सबैजसो भारतमै भएकाले भारत सरकारद्वारा जारी अखडा एक्ट १८१३ अनुसार सञ्चालित छन् ।

अखडाको नेतृत्व हरेक तीन–तीन वर्षमा परिवर्तन हुने गर्दछ । पछि पिठहरुको स्थापना पछि ती अखडाहरु पनि बृहत्तर दर्शन र शिक्षाको लागि पीठहरुकै अधिनमा ल्याइएका थिए । शैव सम्प्रदाय अन्तर्गत नेपालमा एक र भारतमा २४ अखडाहरु अस्तित्व आएको भएता पनि केही अखडाहरुको अस्तित्व बीचैमा लोप हुँदै पनि गएका छन् ।

११. दशनामी संन्यासीहरुको थर, गोत्र, उपगोत्र र मढी

दशनामी संन्यासी नेपालमा आदिम कालदेखि बसोबास गर्दै आएको अल्पसंख्यक जाति हो । संन्यासीहरुलाई भारत वर्षमा शंकराचार्यले नयाँ उपज या नयाँ जाति बनाइएको भनिएको मात्र हो, अन्य जातिबाट ‘संन्यास’ कर्म धारण गरेको ‘कर्म संन्यासी’हरुकै सन्तान बढेर दशनामी संन्यासीहरुको विकसित रुप बनेको हो भन्ने सोच धेरैको रहेको छ । वर्णाश्रम व्यवस्था लागु हुन अगावै देखि संन्यासीको आ–आफ्नो अलग–अलग मठ, आश्रम र पहिचान (दश थर) थियो ।

शंकराचार्य झैं आज जसलाई वशिष्ठ, विश्वमित्र, अगस्त्य, पराशर कृष्णद्वैपायन, भारद्वाज आदि भन्छौं ती सबै युग पुरुष संन्यास आचार्य थिए ।  विशेष घटना, प्रसङ्ग वा समयको आवश्यकताले कुनै पनि कुराको सुरुवात भए जस्तै दशनामी संन्यासी समुदायको स्थापना वा सुरुवात पनि एउटा कालखण्डको विशिष्ट परिस्थितिबाट भएको बुझिन्छ । वैदिक काल देखि नै स्थापना तथा निर्माण भई गौरवमय परम्परा र संस्कृतिको प्रवाहसँगै वर्तमानमा आइपुग्दा दशनामी संन्यासी समुदायको इतिहास झनै लामो हुँदै गएको छ ।

हिन्दु धर्मका अन्य जातिहरुले आफ्नो कुल, वंशज र पुर्खाहरुसँगको सम्बन्ध श्रृङ्खला गोत्रको आधारमा पहिल्याउने गर्दछन् तर दशनामी संन्यासी समुदायमा आफ्ना पूर्वजहरुको सम्बन्ध श्रृङ्खला पहिल्याउनको लागि गोत्रको साथै उपगोत्र र मढीको श्रृङ्खला थाहा पाउन अनिवार्य हुन्छ ।

शंकराचार्यद्वारा स्थापित चार पिठका प्रथम शंकराचार्यहरुको गोत्रहरु नै दशनामी संन्यासी परम्पराको मूल गोत्र भनिए पनि हजारौं वर्ष अगाडि देखि आश्रम र मठ सञ्चालन गरेर आएका १० जना चेलाहरुको परम्परा र गोत्रलाई ४ ओटा शंकराचार्यको गोत्रले समेट्न नसकेपछि दशै जना चेलाहरुको गोत्रहरु दशनामी संन्यासी परम्पराका उपगोत्रहरुका रुपमा अपनाएका थिए ।

यी १० जना संन्यासीहरुले ५२ जना चेला बनाएर दिक्षित गरी देशविदेशका गरी ५२ ठाउँमा मठ स्थापना गरेर पठाइएको थियो । त्यो मध्ये वेद गिरी नामक स्थापित तिब्बतको लामा मढीको अस्तित्व बीचैमा समाप्त भयो । बाँकी ५१ ओटा मठ स्थापित गर्ने दशनामी संन्यासीहरुका नामलाई नै ‘मढि’ भनिए । मढीले नै दशनामी संन्यासीहरुको परम्परागत संरचना पहिल्याउने गरिन्छ ।

तीर्थः
त्रिवेणी संगमेतीर्थ तत्वमस्यादि लक्षणे ।
स्नायात तत्वार्थ भावेन तीर्थ नामः स उच्येते ।

अर्थः तत्वमसि आदि महावाक्यको त्रिवेणी संगम हो । यस्तो महावाक्य संगमरुपी तीर्थमा जो व्यक्ति तत्व अर्थ जान्ने इच्छाले ज्ञानको स्नान गर्छ उसलाई तीर्थ नामबाट उच्चारण गरिन्छ।

शारदा पीठका प्रथम शंकराचार्य स्वामी हस्तामलक (विश्वरुपाचार्य) का दुईजना चेलाहरु मध्ये एकजना भारती तीर्थले दिक्षित गरेका संन्यासीहरुलाई ‘तीर्थ’ को पद धारण गराइएको थियो ।

कालान्तरमा तीर्थ पद (नाम) धारण गरेका संन्यासी र उनीहरुका सन्ततीहरुले ‘तीर्थ’ लाई आफ्नो नामको पछाडिका थरकै रुपमा प्रयोग गर्न थाले । तीर्थहरु गोभित्र सूत्र, कोथुमी शाखाका हुन् भने शारदा पीठका संन्यासी भएका कारणले यिनीहरुको मुख्य गोत्र अविगत र उपगोत्र अत्रि हो । तीर्थहरुको मढि छैन ।

आश्रम :
आश्रमे ग्रहणे प्रांैढो आशापाशादि वर्जित ।
यातायात विर्निमुक्तो एतदाश्रम लक्षणम् ।
अर्थ : जुन पुरुषको आशा, कामना, ममता, मोहरुपी बन्धनको हृदय देखि नै नाश भइसकेको छ र आफ्नो आश्रमको नियमादिमा दृढ भएर आवागमन देखि टाढै रहने लक्षण आश्रमको हुन्छ ।

शारदा पीठका प्रथम शंकराचार्य स्वामी हस्तामलक (विश्वरुपाचार्य) का दुईजना चेलाहरुमध्ये एकजना अनन्त आश्रमले दिक्षित गरेको संन्यासीहरुलाई ‘आश्रम’ पद धारण गराइएको थियो।

पछि आश्रम पद (नाम) धारण गरेका संन्यासी र उनीहरुका सन्ततीहरुको ‘आश्रम’लाई थरकै रुपमा प्रयोग गर्न थाले । आश्रमहरु पनि गोभित्र सूत्र, कोथुमी शाखाका हुन् भने शारदा पिठका संन्यासी भएको कारणले यिनीहरुको मुख्य गोत्र अविगत र उपगोत्र जमदग्नी हो ।
आश्रमहरुको पनि मढी छैन ।

वन :
सुरम्ये निर्जने देशे वासंनित्यं करोति यः ।
आशा पाशा विनिर्मुक्तो वन नामः स उच्येते ।१०

अर्थ : जो मनुष्य सुन्दर शान्त, निर्जन वनमा वास गर्दछ, जगतको बन्धन देखि अलग रहन्छ, उसलाई वन नामले उच्चारण गरिन्छ ।

गोवर्धन पीठका प्रथम शंकराचार्य स्वामी पदमपादका दुईजना चेलाहरुमध्ये एकजना वशिष्ठ वनले दिक्षित गरेका संन्यासीहरुलाई वनको पद धारण गराइएको थियो । कालान्तरमा वन पद (नाम) धारण गरेका संन्यासी र उनीहरुका सन्ततिहरुले ‘वन’ लाई नामको पछाडिको थरकै रुपमा प्रयोग गर्न थाले ।

वनहरु आश्वालायन शाखा सूत्रका हुन् भने गोबर्धन पीठका संन्यासी भएको कारणले यिनीहरुको मुख्य गोत्र कश्यप हो । वनहरुमा चार वटा मढि छन् । श्यामसुन्दर वन मढि भएका वनहरुको उपगोत्र जमदग्नि हो ।

त्यस्तै गंगासनी वन मढी भएका वनहरुको उपगोत्र गौतम हो भने गोपाल वन मढी भएका वनहरुको उपगोत्र अत्रि हो। रामचन्द्र वन मढी भएका वनहरुको उपगोत्र विष्णुवृद्ध हो ।

अरण्य :
अरण्ये संस्थितो नित्यं आनन्दं नन्दने वने ।
त्यक्त्व सर्वमिदं विश्वमारण्यं लक्षणं किल । ११
अर्थ : कुनै पुरुष यस विश्वलाई त्यागेर अत्यन्त विरक्त भई अरण्य विशाल नन्दन वनमा रहेर सदा आनन्द भोग्ने लक्षण भएको व्यक्तिलाई अरण्य भनि कहिन्छ ।

गोवर्धन पीठका प्रथम शंकराचार्य स्वामी पदमपादका दुईजना चेलाहरुमध्ये एकजना शम्भु अरण्यले दिक्षित गरेका संन्यासीहरुलाई ‘अरण्य’को पद धारण गराइयो ।

पछि अरण्य पद (नाम) धारण गरेका संन्यासी र उनीहरुका सन्ततीहरुले ‘अरण्य’लाई थरकै रुपमा प्रयोग गर्न थाले । अरण्यहरु सांख्यायन सूत्रका हुन भने गोवद्र्धन पीठका संन्यासी भएकोले मूल गोत्र कश्यप र उपगोत्र मुद्गल हो । अरण्यहरुको मढी छैन ।

गिरी :
वासो गिरी वरे नित्यं गिताअभ्यासे हि तत्पर ।
गम्भीराश्चल बुद्धिश्च गिरी नामा स.उच्येते ।१२

अर्थः जो मनुष्य हिमालय गिरी शिखरमा वास गरी गीताको अभ्यास गर्दछ र गम्भीर निश्चल बुद्धि भएको व्यक्तिलाई गिरी नामले उच्चारण गरिन्छ ।

ज्योर्तिपीठका प्रथम शंकराचार्य स्वामी त्रोटकका तीन जना चेलाहरु मध्ये एकजना नारायण गिरीले दिक्षित गरेका संन्यासीहरुलाई ‘गिरी’ को पद नाम धारण गराइएको थियो । कालान्तरमा गिरीलाई थरकै रुपमा प्रयोग गर्न थाले । गिरीहरु शौनकी शाखाको कौशिक सूत्र परम्परा अन्तर्गत पर्दछन् ।

दशनामी संन्यासी समुदायमा सबैभन्दा धेरै मढी भएको हाँगा ‘गिरी’ नै भएकोले दशनामी संन्यासी समुदायभित्र करिब ७०% भन्दा बढी संख्या गिरीको देखिन्छ ।
ज्योर्तिपीठसँग सम्बन्धित संन्यासी भएको कारणले यिनीहरुको मुख्य गोत्र भृगु हो ।

ऋद्धिनाथी, सञ्जीवनीनाथी, दुर्गानाथी, बैकुण्ठनाथी र ब्रह्यनाथी मढी भएका गिरीहरुको उपगोत्र जमदग्नी हो । नागेन्द्रनाथी, सेजनाथी, ,मोहननाथी, रुद्रनाथी, कुसुमनाथी, अघोरीनाथी, सागरनाथी, भावनाथी गरी नौ वटा मढी भए गिरीहरुको उपगोत्र उपमन्यु हो । सरभंगनाथी, ज्ञाननाथी, माननाथी, बलभद्रनाथी र अपारनाथी गरी पाँच वटा मढी भएका गिरीहरुको उपगोत्र भारद्वाज हो ।

त्यस्तै ओमकारी र परमानन्दी मढी भएका गिरीहरुको उपगोत्र भारद्वाज हो । त्यसैगरी वत्स उपगोत्र अन्तर्गत रामदत्ति मढि, हरित उपगोत्र अन्तरगत सिंहश्याममती मढी, वशिष्ठ उपगोत्र अन्तरगत चन्दननाथी बोदला मढी, अगत्स्य उपगोत्र अन्तरगत पाटम्बरनाथी मढी, कुण्डिन उपगोत्र अन्तर्गत सागरबोदलानाथी र अत्री उपगोत्र अन्तर्गत रत्ननाथी मढी पर्दछन् ।

पर्वतः
वसेत्पर्वत मूलेषु प्रौढो यो ध्यान तत्परः।
सारासारं विजानाति पर्वत परि किर्तितं । १३
अर्थ : जुन पुरुष समाधिमा पर्वतको मूलमा या पर्वतको शिखरमा बसी जगतको सारअसारलाई पूर्ण रुपले जानी निस्प्रिह रहन्छ, त्यसैलाई पर्वत संज्ञाले चिनिन्छ ।

ज्योर्तिपीठको प्रथम शंकराचार्य स्वामी त्रोटकका तीन जना चेलाहरुमध्ये एकजना पूर्ण पर्वतले दीक्षित गरेका संन्यासीहरुलाई पर्वतको पद (नाम) धारण गराइएको थियो । पछि पर्वत पद धारण गरेका संन्यासी र उनीहरुका सन्ततीहरुले पर्वतलाई थरकै रुपमा प्रयोग गर्न थाले । पर्वतहरु शौनकी शाखा कौशिक्य सूत्र अन्तरगत पर्दछन् । ज्योर्तिपिठका संन्यासी भएका कारणले यिनीहरुको मुख्य गोत्र भृगु हो भने उपगोत्र भारद्वाज हो पर्वतको मढी छैन ।

सागरः
वसेत्सागर गम्भीरे द्यनरत्न परीग्रह ।
मर्यादा रचनालंघेन सागर परिकिर्तित :।१४

अर्थः जो व्यक्ति समुद्रको तीरमा बसेर अध्यात्म शास्त्रको उपदेशरुपी रत्नको ग्रहण गर्दछ, आफ्नो आश्रमको मर्यादाको यत्नपूर्वक पालन गर्दछ र सागर समान निश्चल छ भने उसलाई सागर नामको संज्ञा दिइन्छ ।

ज्योर्तिपीठका प्रथम शंकराचार्य स्वामी त्रोटकका तीनजना चेलाहरु मध्ये एकजना राम सागरले दीक्षित गरेका संन्यासीहरुलाई सागरको पद (नाम) धारण गराइएको थियो ।

कालान्तरमा सागर पद धारण गरेका संन्यासी र उनीहरुका सन्ततीहरुले सागरलाई थरकै रुपमा प्रयोग गर्न थाले । सागरहरु पनि शौनकी शाखा कौशिक सूत्र अन्तर्गत पर्दछन् । ज्योर्तिपीठका संन्यासी भएको कारणले यिनीहरुको मुख्य गोत्र भृगु हो भने उपगोत्र भारद्वाज हो । सागरको मढी छैन ।

सरस्वतीः
स्वर ज्ञानं वसोनित्यं स्वर वादी कवीश्वर ।
संसार सागरे सार भिज्ञे यस सरस्वती ।१५

अर्थ : जो पुरुष स्वर स्वासको अभ्यास गर्दछ, जनवेदको साँगोपाँग सहित परिपूर्ण रुपले जान्दछ, अमृतरुपी रत्नलाई लिन खोज्नेलाई सरस्वती नामले पुकारिन्छ ।

श्रृंगेरी पिठका प्रथम शंकराचार्य स्वामी शुरेश्वरका तीनजना चेलाहरु मध्ये एकजना परमानन्द सरस्वतीले दीक्षित गरेका संन्यासीहरुलाई सरस्वतीको पद (नाम) धारण गराइएको थियो ।

कालान्तरमा सरस्वती पद धारण गरेका संन्यासीहरुले र उनीहरुको सन्ततीहरुले पनि सरस्वतीलाई थर कै रुपमा प्रयोग गर्न थाले । सरस्वतीहरु काण्ड शाखा कात्यायन सूत्र अन्तर्गत पर्दछन् । श्रृंगेरी पीठका संन्यासी भएकाले यिनीहरुको मूल गोत्र भुर्भव हो भने उपगोत्र हरित हो । सरस्वतीहरुको मढी छैन ।

भारतीः
विद्या भारेण सम्पूर्ण : सर्व भारं परित्यजेत् ।
दुःख भारं नजानाति भारती परि किर्तितः।१६
अर्थ : जो पुरुष विद्याको भारलाई जानेर संसारको भारलाई त्यागी दुःख रुपी भारलाई बिर्सिएको हुन्छ भने उसलाई भारती नामले पुकारिन्छ ।

श्रृंगेरीपीठको प्रथम शंकराचार्य स्वामी सुरेश्वरको तीनजना चेलाहरुमध्ये हस्तामलक भारतीनामका चेलाले दीक्षित गरेका संन्यासीहरुलाई भारती पद (नाम) दिइएको थियो । पछि आएर भारती पद धारण गरेका संन्यासी र उनीहरुका सन्ततीहरुले भारतीलाई थरकै रुपमा प्रयोग गर्न थाले ।

भारतीहरु श्रृंगेरी पीठका संन्यासी भएकाले यिनीहरुको मूल गोत्र भुर्भव हो भने उपगोत्र अत्रि हो । भारतीका चार वटा मढीहरु मध्ये नृसिंह भारती मढी आयस्तव शाखा कात्यायन सूत्र अन्तर्गत पर्दछन् भने मनमुकुन्द भारती, मनमहेश भारती र विश्वम्भर भारती मढी भारद्वाज शाखा कात्यायन सूत्र अन्तर्गत पर्दछन् ।

पुरीः
ज्ञान तत्वेन सम्पूर्ण पूर्णे तत्वे पदेस्थित ।
परब्रम्हारतो नित्य पुरी नामा स उच्येते ।१७

अर्थ : जुन पुरुष तत्व ज्ञानले परिपूर्ण हुन्छ, परब्रम्हा प्राप्त गरिरहेको छ भने उसलाई पुरी नामले उच्चारण गरिन्छ ।
श्रृंगेरी पीठका प्रथम शंकराचार्य स्वामी सुरेश्वरका तीन जना चेलाहरुमध्ये नित्यानन्द पुरीले दीक्षित गरेका संन्यासीहरुलाई पुरीको पद (नाम) धारण गराइएको थियो ।

कालान्तरमा पुरी पद धारण गरेका संन्यासी र उनीहरुका सन्ततिहरुले पुरीलाई थरकै रुपमा प्रयोग गर्न थाले । पुरीहरु माध्यदिन शाखा, कात्यायन सूत्र अन्तर्गत पर्दछन् । श्रृंगेरी पीठका संन्यासी भएकाले पुरीहरुको मुख्य गोत्र भुर्भव हो ।

पुरीहरुका १६ ओटा मढी र ४ वटा उपगोत्रहरु छन् । केवल पुरी, अचिन्त्य पुरी, मथुरा पुरी र माधव पुरी मढी भएका पुरीहरुको उपगोत्र जमदग्नी हो ।

जगदेव पुरी, ऋषिकेश पुरी, रामचन्द्र पुरी र वैकुण्ठ पुरी मढी भएको पुरीहरुको उपगोत्र उपमन्यु हो । त्यसैगरी श्यामसुन्दर पुरी, जडभरत पुरी, गंगादरिया पुरी, सिंहदरिया पुरी मढी भएका पुरीहरुको उपगोत्र शरद्वन हो भने भगवान पुरी, भगवन्त पुरी, सुजपुरी, मेघनाथ पुरी मढी भएको पुरीहरुको उपगोत्र वशिष्ठ हो ।

सहायक सन्दर्भ सामग्रीहरु
१. मनुस्मृति अनुसार ३ प्रकारको दण्ड उल्लेख गरिएको छ, वाग्दण्ड, मनोदण्ड र कर्मदण्ड । ऋषिअत्रिकानुसार भिक्षु चार प्रकारका हुन्छन् र ती सबै त्रिदण्डीधारी नै हुने गर्दछन् भनी उल्लेख गरेका छन्
२. शितल गिरी–संन्यासी जातिको इतिहास–नेपाली लोकवार्ता भाग–६, पृ.२४२
३. हिमाल गिरी–दशनामी संन्यासी, पृ.४९, २०७१
४. हिमाल गिरी–दशनामी संन्यासी, पृ.५०–५३, २०७१
५. रमेश गिरी–६०० वर्ष पुरानो गद्दि बैठकमा यसरी घोषणा गरियो पिर महन्त, समावेशी खबर, भाद्र ९, २०७७
६. सन् ५४७, ६४७ र ७४९ मा स्थापित अखडाहरु शंकाराचार्यको जन्म हुनुभन्दा अघिदेखि नै स्थापना भई सञ्चालनमा आएको र तयसपछिको अन्य अखडाहरु शंकराचार्यद्वारा स्थापित चारै पीठका शंकराचार्यहरुको सुझाव, मार्गदर्शन तथा सरसहयोगमा स्थापना भएको थिए ।
७. शितल गिरी–संन्यासी जातिको इतिहास–नेपाली लोकवार्ता भाग–६, पृ.२३७
८. टेकराज गिरी–संन्यास परम्परा तथा संन्यास कर्मविधि, पृ.२५
९. टेकराज गिरी–संन्यास परम्परा तथा संन्यास कर्मविधि, पृ.२५
१०. टेकराज गिरी–संन्यास परम्परा तथा संन्यास कर्मविधि, पृ.२५
११. टेकराज गिरी–संन्यास परम्परा तथा संन्यास कर्मविधि, पृ.२५
१२. टेकराज गिरी–संन्यास परम्परा तथा संन्यास कर्मविधि, पृ.२५
१३. टेकराज गिरी–संन्यास परम्परा तथा संन्यास कर्मविधि, पृ.२६
१४. टेकराज गिरी–संन्यास परम्परा तथा संन्यास कर्मविधि, पृ.२६
१५. टेकराज गिरी–संन्यास परम्परा तथा संन्यास कर्मविधि, पृ.२६
१६. टेकराज गिरी–संन्यास परम्परा तथा संन्यास कर्मविधि, पृ.२७

लेखक : हिमाल गिरी- उहाँ विभिन्न क्षेत्रका विषयमा खोजअनुशन्धान गर्नुहुन्छ, थुप्रै अनुशन्धनात्मक पुस्तकहरु बजारमा आएका छन् ।