जनकपुरधाम : सर्लाहीमा एक महिलासहित दुई जना लागूऔषधसहित पक्राउ परेका छन् । सदरमुकाम मलंगवा नगरपालिका ७ गणेशिया टोलबाट टेम्पोमा सवार महिलालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ ।
प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पोमा सवार मकवानपुरको कैलाश गाउँपालिका ५ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई २० किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
यस्तै, कबिलासी नगरपालिका ८ बाट प्रहरीले कारमा सवार एक व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको एचआर २६ बीएफ १८७६ नम्बरको कारलाई जाँच गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
कारमा सवार लालबन्दी नगरपालिका ८ बस्ने ४३ वर्षीय अख्तर हुसेनको साथबाट डाइलेक्स डिसी सय एमएलको ११ बोतल, नुफिनरफेरगन ११ एम्पुल र हाइटेक इन्जेक्सन ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया