सुवास दर्नाल, सोलुखुम्बु : शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियरलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्यालयका सब–इन्जिनियर पवनकुमार यादवलाई हिजाे सोमवार कालोमोसो र जुत्ताको माला लगाइदिने नाै जनामध्ये ६ जनालाई आज मङ्गलवार सदरमुकाम आसपासका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार पक्राउ पर्नेमा २४ वर्षीय मानव राईसहित अन्य पाँच जना २० वर्षभन्दा कम उमेरका विद्यार्थीहरू रहेका छन् ।
उनीहरूमाथि अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य तीन जना भने फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का नाै जना कार्यकर्ताले हिजाे दिउँसो १ बजे कार्यालय परिसरमा यादवमाथि दुर्व्यवहार गरेका थिए ।
जिल्लाको महाकुलुङ गाउँपालिकाको ६ वटा विद्यालय भवन पुनर्निर्माण गर्ने क्रममा सबइन्जिनियरहरू पवनकुमार यादव र नवीनकुमार सिंहले आर्थिक भ्रष्टाचार गरेको उनीहरूको आरोप छ ।
रकम तत्काल फिर्ता गर्न पटक/पटक ताकेता गर्दा समेत बेवास्ता गरेकाले साङ्केतिक कारबाही गरिएको कार्यालय अगाडि टाँसिएको विज्ञप्तिमा भनिएको छ ।
तपाइँको प्रतिक्रीया