२०८१ माघ ६ आइतबार

नक्कली पीसीआर रिपोर्ट धन्दा, ल्याब प्रबन्धक सहित ४ जना पक्राउ

  • २०७८ माघ १९ बुधबार

काठमाडौं : केही अस्पतालले चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ ।जसले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

भक्तपुरको मध्युपर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा त्यहाँका कर्मचारी र केही विचौलिया पक्राउ परेको अपराध अनुसन्धान महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेमा विदेह नगरपालिका ४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका- १ धनुषाका नागेन्द्र यादव, तेमाल गाउँपालिका- ५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका- ७ सर्लाहीका प्रसन्नकुमार झा छन् । त्यस्तै राजदेवी नगरपालिका- ४ रौतहटका भावेश मित्र र काठमाडौं महानगरपालिका- ३२ का निर्मल गिरी भने फरार छन् ।

प्रहरीका अनुसार आरोपित प्रसन्नकुमार झा नागरिक कम्युनिटी टिचिङ अस्पतालका ल्याब प्रबन्धक हुन् । भावेश मिश्र नागरिक कम्युनिटी टिचिङका पीसीआर ल्याब सञ्चालक र निर्मल गिरी कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक हुन् ।

प्रहरीका अनुसार उनीहरुले व्यक्तिको स्वाबको नमुना नलिइकनै नेगेटिभ रिपोर्ट दिने गरेका थिए । त्यस्तै कतिपय पीसीआर पोजेटिभ देखिएका नमुनाको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको पनि प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार ती अस्पताल र ल्याबबाट सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबविनै विचौलियाहरुले आफैंले आफ्नो स्वाब संकलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको छ ।

त्यस्तै विचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरुलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी एक जनाबाट १० हजार रुपैयाँसम्म असुल गरेको पाइएको पनि अपराध अनुसन्धान महाशाखाले बताएको छ ।

प्रहरीले उनीहरूको साथबाट पीसीआर रिपोर्ट नेगेटिभ बनाउने कम्प्युटर मनिटर, ल्यापटप, सीपीयु, नक्कली पीसीआर रिपोर्ट र मोबाइलगायत सामग्रीसमेत बरामद गरेको छ । ok