२०८१ माघ ६ आइतबार

सोलुखुम्बुमा भारी हिमपात, सडक अवरुद्ध, जनजिवन कष्टकर

  • २०७८ माघ २१ शुक्रबार

सुवास दर्नाल, सोलुखुम्बु : सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा भारी हिमपात भइरहेको छ ।

सल्लेरीलगायत अन्य क्षेत्रमा गएरातिदेखि नै भारी हिमपात भइरहेको छ ।

सडकमा बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेका छैन भने काठमाण्डौ लगायत बाहिरी जिल्लामा जाने गाडी चल्न नसकेको यातायात व्यवसायी दोर्जी शेर्पाले बताए ।

सडक मार्गबाट सोलुखुम्बु भित्रिने एक मात्र नाका पत्ताले क्षेत्रको सडकमा करिब २ फिट जति हिउँ जमेकाले तत्काल गाडी चल्ने सम्भावना कम रहेको शेर्पाले बताए ।

हिमपातपछि सदरमुकाम सल्लेरी, फाप्लु, नयाँ बजार लगायतका क्षेत्रमा हिउँ खेल्न मनिसहरु सडकमा निस्कन थालेका छन् भने हिउँ पर्ने क्रम झनै बाक्लिँदै गएको स्थानीय रमेश राइले बताए ।

खुम्बु क्षेत्रमा करिब ११,१२ दिनयता दैनिकजसो नै हिमपात भइरहेको छ भने गएरातिदेखि सुरु भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ ।

यस क्षेत्रमा बाक्लो हिउँ जमेका कारण मानिसहरू घर बाहिर निस्कन समेत मुस्किल भइरहेको  सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख भूमिराज उपाध्यायले जानकारी दिए।