२०८१ भाद्र २८ शुक्रबार

‘कमिशन’ बाँडफाँडमा विवाद हुँदा ३ जनाको हत्या

  • २०७८ माघ २१ शुक्रबार

मोरङ : मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिशन’ बाँडफाँडमा विवाद भएपछि ३ जनाको हत्या गरिएको छ ।

मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या गरिएको थियो । शम्भु चौधरी र राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार श्रेष्ठलाई पुस ५ मा र शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो ।

भारतीय चलचित्र ‘दृश्यम’ को शैलीमा हत्यापछि शव खाल्डोमा पुर्ने मुख्य योजनाकार हुन्, सिरहा घर भएका अनिलकुमार मण्डल । मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भएका शम्भु चौधरीको शव माघ १३ मा भेटिएको थियो ।

उनको शव भेटिएको ठाउँभन्दा २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको शव माघ १४ मा फेला परेको थियो ।

चौधरी काठमाडौंको क्षेत्रपाटी बस्थे । जग्गा कारोबार र ठेक्कापट्टा गर्ने चौधरी काठमाडौंबाट ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठसँगै काठमाडौंबाट मोरङ गएको अनुसन्धानबाट थाहा भएको छ । ratopati