२०८१ भाद्र २४ सोमबार

सुरक्षाको भरपर्दो व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन

  • २०७८ माघ २१ शुक्रबार
काठमाडौँ, २१ माघ रक्षा मन्त्रालयको आ.व. २०७८/७९को दोस्रो त्रैमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको शुक्रबार रक्षा मन्त्रायमा बसेको बैठकमा सहभागी प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाण्डौ : प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

आज शुक्रवार सिंहदरबारमा रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बोल्दै उनले विकास, निर्माणको कामलाई सहज ढङ्गले अघि बढाउन पनि सुरक्षाजस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पारे ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराउनुभएको रक्षा सचिव किरणराज शर्माले जानकारी दिए ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले रक्षा मन्त्रालय देशको सुरक्षा तथा प्रतिरक्षाजस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको मन्त्रालय हो । सुरक्षा, सशासन र विकासको पूर्वसर्त हो ।

भरपर्दो सुरक्षा प्रबन्ध नभइ देशमा एकातिर विकास, निर्माणका कामहरूलाई सहज रूपमा अघि बढाउन सकिन्न भने अर्कोतर्फ यसले पार्ने असरहरूलाई पनि हेर्नुपर्ने हुन्छ भनेर प्रधानमन्त्रीज्यूले यसलाई सम्बन्धित मन्त्रालय, निकायहरूले उच्च प्राथमिकतामा राख्न निर्देशन दिए ।

कैयौँ संवेदनशील विषयहरूमा समेत प्रधानमन्त्रीज्यूले निर्देशन जारी गर्नुभएको छ ।

त्यसलाई हामीले शतप्रतिशत रूपमा कार्यान्वयन गरेर चालु खर्चलाई सीमामा राख्ने, पुँजीगत खर्चलाई वृद्धि गर्ने र समयमै आयोजनाहरू सम्पन्न गर्ने र सबै कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर समयमै सम्पन्न गर्ने हामीले यथेष्ट लक्ष्य राखेका छौँ । यसमा सबैको सहयोग, समन्वय र सहजीकरण भइराखेको छ ।’

त्यस अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापनालगायतका विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।