२०८१ माघ २५ शुक्रबार

पशुपति क्षेत्रका टहरा १५ दिनभित्र हटाउन क्षेत्र विकास कोषको आग्रह

  • २०७८ माघ २२ शनिवार

काठमाण्डौ : पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना निकालेर अव्यवस्थित फूलपसल एवम् टहरा १५ दिनभित्र व्यवस्थित गर्न आह्वान गरेको छ ।

पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूलपसल एवम् टहरा राखिएको कोषले निकालेको सूचनामा उल्लेख छ ।

यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवम् उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको छ । भक्तजन, तीर्थयात्री, पैदलयात्री एवम् पर्यटकलाई समेत यसले हिँडडुलमा समस्या हुनुका साथै नकारात्मक असर गरेको छ ।

पशुपति क्षेत्रको मापदण्ड एवम् कोषको स्वीकृति नलिइ सञ्चालित पसल एवम् बसोबासका लागि बनाइएका अस्थायी टहरा र वनकाली वनगणेश क्षेत्रमा रहेका अस्थायी फूल पसल, पूजासामग्री पसल, पूजा भाँडा पसल पनि हटाएर व्यवस्थित गर्न कोषले सूचित गरेको छ ।