२०८१ असार २ शनिवार

काठमाण्डौ–तराई ‘फास्ट ट्र्याक’ लाई बजेट अभाव हुँदैन : अर्थ मन्त्रालय

  • २०७८ माघ २६ बुधबार

काठमाण्डौ : अर्थ मन्त्रालयले निर्माणाधीन काठमाण्डाै–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि बजेट अभाव हुन नदिने बताएको छ । याे आयोजना बनाउने जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो ।

आज बुधवार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले राष्ट्रिय गौरवको आयोजनाका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको हो । तर त्यसका लागि यथार्थमा आधारित योजना लिएर आउन पनि आयोजनालाई उहाँले सचेत गराउनुभयो ।

सहसचिव सुवेदीले यथार्थपरक योजना नआउँदा याे आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समस्या भइरहेको पनि समितिलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यो राष्ट्रिय महत्त्वकाे आयाेजना हो । तर यथार्थपरक याेजना ल्याइदिनु पर्‍याे । बजेटको अभाव हुन्न ।’

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पनि आयोजनालाई बजेटबारे समयमै सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्न आग्रह गर्नुभयो । आयोजनाको कामको प्रगति हेरेर बजेटको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

उपाध्यक्ष पौडेलले राष्ट्रिय गौरवको आयोजना भएकाले त्यसका लागि बजेटको अभाव हुन नदिने विषयमा अर्थ मन्त्रालयसँग पटक–पटक छलफल गरिएको पनि बताउनुभयो ।

रक्षा मन्त्रालयले भने तोकिएकै मितिमा आयोजना सम्पन्न गर्ने तर त्यसका लागि सरकारले बजेटको स्रोतको सुनिश्चितता गर्नुपर्ने जनाएको छ ।

रक्षा सचिव किरणराज शर्माले आयोजना तोकिएकै मितिमा सम्पन्न गर्न बजेटको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा पाँच अर्ब, आउँदाे आर्थिक वर्षमा ५५ अर्ब ५० करोड, आर्थिक वर्ष २०७९/८० मा ४५ अर्ब ६६ करोड र आर्थिक वर्ष २०८०/८१ मा ३४ अर्ब ५२ करोड रुपैयाँ बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयसँग माग गर्नुभयो ।

झन्डै एक खर्ब ७५ अर्ब रुपैयाँ बजेट लाग्ने याे आयोजना २०८१ भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले आयोजना समयमै सम्पन्न हुने दोहोर्‍याउँदै त्यसका लागि बजेटको अभाव हुन नहुने बताउनुभयो । ujyaalo