काठमाण्डौं : सोलु करिडोर १३२ केभी प्रसारण लाइन आउँदो सोमवारबाट सञ्चालनमा आउने भएको छ । आयोजना प्रमुख जर्नादन गौतमका अनुसार परीक्षण प्रसारणको क्रममा कुनै अवरोध नभएकाले फागुन २ गतेबाट सञ्चालन गर्ने तयारी भइरहेको छ ।
वन तथा वातावरण मन्त्रालयबाट पछिल्लो ४ वर्षमा बढेका रुख बिरुवा कटानको स्वीकृति आउन समय लाग्ने देखिएपछि हाँगाबिँगा कटान गरेरै भए पनि प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए।
आयोजना क्षेत्रमा रुख बिरुवाको सङ्ख्या बढेपछि पुनः कटानको स्वीकृति लिने प्रक्रिया अघि बढाउँदा समय लागेको आयोजनाले जनाएको छ । सन् २०१६ को सेप्टेम्बर २५ देखि यो प्रसारण लाइनको निर्माण सुरु भएको थियो ।
सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनको रुटमा ३ सय २ वटा टावर निर्माण भएका छन् ।
प्रसारण लाइन सञ्चालनमा आउनासाथ २३ दशमलव ५ मेगावाटको सोलु खोला आयोजनाको विद्युत् प्रवाह हुनेछ ।
२०७६ सालको चैतदेखि सञ्चालनमा आएको आयोजना प्रसारण लाइनको समस्याकै कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।
हिउँदमा समस्या नभए पनि बर्खामा १७ मेगावाट विद्युत् खेर गइरहेको थियो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला सुरु भएको थियो ।
प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२को चैतमा ठेक्का सम्झौता भएको थियो ।
तपाइँको प्रतिक्रीया