२०८१ असोज २८ सोमबार

बृषेश चन्द्रलालले लोसपा छाडे, पुन: दर्ता भएको तमलोपामार्फत राजनीति गर्ने

  • admin २०७८ माघ २९ शनिवार

काठमाडौं : लामो समय देखी महन्थ ठाकुर नेतृत्वलाई साथ दिदैँ आएका प्रभावशाली नेता बृषेशचन्द्र लालले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)वाट अलग भएका छन् ।

ठाकुर नेतृत्वको लोसपा नेपाल परित्याग गरेका लालले पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी  ( तमलोपा ) पुन: दर्ता गरेर सोही पार्टीमार्फत राजनीतिक गतिबिधि गर्ने भएका हुन् ।

‘लोसपा संस्थागत रुपमा चल्न सकेन्, लोसपा मात्रै होइन जसपा पनि संस्थागत रुपमा चल्न सकेको अवस्था छैन, एउटा केपी ओलीको पछाडी लागेको छ भने अर्को पार्टी प्रचण्डजीको पछि लागेको अवस्था छ,’ लालले भने, ‘मधेस आन्दोलनको मर्म र भावना बिपरित मधेसका नेताहरु सत्ता र कुर्सीका लागि ज्यान फाल्न थाले पछि मधेस आन्दोलनका आन्दोलनकारीहरुको भावनालाई सम्वोधन गर्न लोसपा छाडेको हुँ ।’ उनका अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वको पार्टीले मधेस केन्द्रित दलको पहिचान गुमाउँदै गएकाले पार्टी छाडन बिवश भएको हो ।

‘मधेस आन्दोलनमा सक्रिय साथीहरुको सल्लाह अनुसार तमलोपा निर्वाचन आयोगमा पुन: दर्ता भएको छ, अबको राजनीति म यसैवाट गर्ने निष्कर्षमा पुगेको छु,’ लालले अगाडी भने, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार तमलोपावाट खडा गर्ने गरी गृहकार्य भईरहेको छ, साथीहरु क्रमश: हामीसँग जोडिदैँ जानु भएको छ ।’ उनका अनुसार रघुशंकरलाल कर्णका संयोजकत्वमा निर्वाचन आयोगमा पुन: दर्ता भएको तमलोपमा संविधानसभा सदस्य डा. बिजय सिंहलगायतका मधेस आन्दोलनका सारथीहरु रहेका छन, संगठन विस्तारका लागि फागुन पहिलो सातावाट तराई मधेसका सबैजसो जिल्लामा औपचारिक कार्यक्रम गर्ने तयारीसमेत भईरहेको छ ।

 

लाल तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालकातर्फवाट राष्ट्रियसभा सदस्यसमेत बिजयीसमेत भएका थिए ।