२०८१ माघ ५ शनिवार

भरपर्दो नेटवर्कको मागसहित तामाखानीवासीले बुझाए नगरपालिका र टेलिकममा ध्यानार्कषण पत्र

  • २०७८ फागुन १ आइतबार

सुवास दर्नाल/सोलुखुम्बु : सोलुखुम्बुको तामाखानीवासीले सञ्चार सेवाबाट बञ्चित हुनु परेको भन्दै नगरपालिका र नेपाल टेलिकमलाई ध्यानार्कषण पत्र बुझाएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ३ को तामाखानी, फलामखानी, लोदिङ लगायतका क्षेत्रमा मोबाईल नेटवर्क गुणस्तरीय नभएको भन्दै आज वडा अध्यक्षसहितको टोलीले दुवै कार्यालयमा ध्यानार्कषण पत्र पेश गरेको हो ।

वडा अध्यक्ष गोपाल मगर, वडा सदस्यहरु ल्हाक्पा गेलु शेर्पा र धर्म बहादुर तामाङसहित नगरपालिका र टेलिकम पुगेको टोलीले तामाखानी क्षेत्रमा गुणस्तरिय नेटवर्क विस्तार गर्न जोडदार माग गरेको टोलीका एक सदस्य ङिमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

health
ज्ञापन-पत्र बुझ्दै नेपाल टेलिकम शाखा कार्यालय सल्लेरीका प्रमुख महमद अकबर अलीले समस्या समाधानका लागि माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिए ।

यस्तै ज्ञापन-पत्र बुझ्दै सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम अधिकारीले वडा नम्बर ३ मा टेलिकमको नेटवर्क प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक पहल गर्ने बताए ।

जिल्लाकै प्रसिद्ध धार्मिक स्थल ज्वालामाई देविको मन्दिर अवस्थित सो क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने तथा निजि कम्पनी एनसीएलको समेत टावर नटिप्ने हुँदा सदरमुकाम नजिकैको तामाखानीवासी सञ्चार सेवाबाट बञ्चित बनेको वडा सदस्य धर्मबहादुर तामाङले बताए ।

जिल्लालाई नै फोरजी सेवामैत्री बनाउने लक्ष्यमा टेलिकम लागेपनि सदरमुकाम नजिकैको बस्ति तामाखानी, लोदिङ, फलामखानी क्षेत्र समेत भरपर्दो नेटवर्कको पहुँच भन्दा बाहिर हुनु लाजमर्दो विषय भएको स्थानीय कृष्ण गोपाल श्रेष्ठले बताए।

भरपर्दो सेवा नहुँदा फोन गर्न डाँडा/डाँडा दौडिनुपर्ने बाध्यता रहेको स्थानीय ङिमा दोर्जी तामाङले गुनासो गरे ।