२०८१ असोज २८ सोमबार

स्वास्थ्यमन्त्रीले गम्भीर अपराध गर्नुभयो, राजीनामा गर्नुस् : योगेश भट्टराई

  • २०७८ फागुन ३ मङ्गलबार

काठमाण्डौं : एमाले सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अनुदानबाट प्राप्त र खरिद गरेका खोपहरुमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्ने प्रयासमा वर्तमान सरकार नै लागि परेको बताएका छन् ।
नेता भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले हालै ‘खोपहरु नहराएको’ दावी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति झुठो रहेको भन्दै खण्डन गरेका छन् ।

‘‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ’, भट्टराईले भनेका छन्, ‘सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित छ ।’

तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र।सं। ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै खतिवडाले हस्ताक्षरसमेत गरेको भट्टराईले दावी गरेका छन् ।