२०८१ भाद्र २४ सोमबार

मूल्य बढाउन उद्योगीले रोके चिनी बिक्री

  • २०७८ फागुन ४ बुधबार

काठमाडौं : होलसेल मूल्य बढाउन उद्योगीले चिनी बिक्री रोकेका छन् । दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको होलसेल व्यापारीहरुले बताएका छन् । चिनीको नयाँ बिक्री मूल्य तोक्न र चिनी बजारमा पठाउन गरिएको आग्रह उद्योगीहरुले नमानेको एक व्यापारीले बताए ।

‘पुरानो अडरको चिनी बजारमा पठाइएको छ, नयाँ चिनीको मूल्य नै तोकिएको छैन, दुई दिनदेखि उद्योगीले बजारमा चिनी पठाएका छैनन्,’ ती व्यापारीले बताए । उद्योगले पुरानो चिनी होलसेललाई प्रतिकिलो ८६ रुपैयाँमा बिक्री गर्ने गरेकोमा अब नयाँ चिनीको मूल्य सोभन्दा बढी हुने भन्दै उद्योगीले ब्ल्याकमेलिङ गर्न थालेको व्यापारीहरुको आरोप छ ।

नयाँ चिनीको मूल्य प्रतिबोरामा ३६ रुपैयाँसम्मले बढ्न सक्ने जानकारी उद्योगीहरुबाट आएको अर्का होलसेल व्यापारी सञ्जय फुँयालले बताए । टोखा चेम्बर अफ कमर्शका अध्यक्षसमेत रहेका फुँयालकाअनुसार अहिले बजारमा पुरानो चिनी मात्रै आइरहेको छ । ‘नयाँ चिनी आएको छैन, मूल्य बढ्ने जानकारी भने आएको छ’ फुयाँलले भने । बोरामा ३६ रुपैयाँले बढ्ने चिनीले उपभोक्ताको मूल्यमा भने खासै असर नगर्ने उनले बताए ।

उद्योगीले नयाँ चिनीको बिक्री रोकेको गुनासो आएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘दुई दिनदेखि बजारमा उद्योगीले नयाँ चिनी नपठाएको र मूल्य बढाएपछि मात्रै बजारमा चिनी उपलब्ध हुने जानकारी गराएको सूचना आएको छ,’ तिमिल्सनाले भने । चिनी जस्तो अत्यवश्यक वस्तुको बिक्री मूल्य बढाउनकै लागि रोक्नु अपराध भएको भन्दै उनले यसबारे अनुगमनकारी निकायमा जानकारी गराएको बताए ।

बजारको हस्तक्षेपकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने चिनीमा अस्वभाविक मूल्य वृद्धि गरिएको गुनासो आएको बताएको छ ।

चिनीको बिक्रीमा विभिन्न खाले समस्या रहेको गुनासो पछि आज मात्रै नेपाल चिनी उद्योग संघलाई चिनीको आपूर्ति व्यवस्था र लागतको सम्पूर्ण विवरण माग गर्दै पत्र काटेको विभागले जनाएको छ ।

‘चिनीको मूल्यमा गडबढी भएको सूचना पछि हामीले आज मात्रै उत्पादन लागत र आपूर्ति अवस्थाबारे चिनी उद्योग संघलाई पत्राचार गरेका छौं,’ विभागका अनुगमन शाखा प्रमुख एवं निर्देशक हरि पंगेनीले भने । विभागले आन्तरिक अनुगमन र अनुसन्धान भन्दै उनले संघको जवाफ पछि थप निर्णय हुने बताए ।