काठमाडौं : ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बाढीका कारण १४ जनाले ज्यान गुमाएका छन । हजारौँ नागरिक प्रभावित भएका छन् ।
रियो दि जिनेरियोको उत्तरतर्फ पर्ने पहाडी सहरमा अस्ति दशकौँपछि ठूलो मुसलधारे वर्षा भएको थियो।
पेट्रोपोलिस सहरमा आपत्काल घोषणा गरिएको छ । रुस भ्रमणमा रहेका राष्ट्रपति जइर बोल्सोनारोले त्यहाँ तत्कालै सहायता पठाइने बताउनुभएको छ । रियो दि जिनेरियो राज्यका गभर्नरले सन् १९३२ पछि ठूलो वर्षा भएको बताएका छन्।
महिनाभरिमा पर्ने पानी केही घण्टामा पर्दा क्षति भएको जलवायु विज्ञहरुले बताएका छन। हिलो मिसिएको भेल घरमा छिरेको छ।
उद्धारकर्ताले पुरिएका मानिसलाई खोजिरहेका छन् । बाढी तथा डुबानका कारण झण्डै ८० घर क्षति पुगेको र तीन सय जनालाई विद्यालयमा आश्रय दिइ सुरक्षित राखिएको पेट्रोपोलिस नगरप्रमुखको कार्यालयले बताएको छ ।
विज्ञहरुले जलवायु परिवर्तनको प्रभावले भारी वर्षा भएको बताएका छन् । तातो वायुमण्डलमा बढी पानी हुने भएकाले विश्वव्यापी उष्णताले अत्यधिक वर्षा हुने गरेको र यसबाट आउने बाढीले जोखिम बढाएको विज्ञको भनाइ छ ।
तपाइँको प्रतिक्रीया