२०८१ असार ६ बुधबार

जनकपुरधामबाट पोखरासम्मको हवाई उडान सुरु

  • २०७८ फागुन ५ बिहीबार

काठमाडौं : जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएका हुन ।
बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधवारदेखि सुरु गरिएको जानकारी दिए ।

सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उहाँले बताए । अहिले प्रत्येक हप्ताको सोमवार, बिहीवार र शनिवार पोखराका लागि उडान हुने तयारी गरिएको बुझिएको छ ।

जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनेटको हवाई यात्रा तय गरेर आउने जाने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।