२०८१ माघ ६ आइतबार

हिमपात र बर्षाका कारण बन्द रहेको सडक नखुल्दा स्थानीयमा सास्ती

  • २०७८ फागुन ५ बिहीबार

काठमाडौं  : डोटीमा दुई हप्ता पहिलेको भारी हिमपातसँगै परेको वर्षाका कारण बन्द भएका ग्रामीण सडकहरु अझै सञ्चालनमा हुन सकेका छैनन् ।

समूहगाढ, कपल्लेकी, नापानी हुँदै गड्सेरा जोड्ने फास्ट ट्रयाक लगायत सडकका विभिन्न खण्डमा हिमपातले रुख ढल्दा, वर्षातले पहिरो खस्दा सडक सञ्चालनमा आउन नसकेको हो । हिमपात र वर्षातका कारण बन्द भएका अन्य ग्रामीण क्षेत्रका सडकको समेत मर्मत नहुँदा सवारी आवतजावतमा सास्ती हुने गरेको छ ।

सडक सञ्चालनमा नआएका कारण एक घण्टाको यात्रामा पुगिने ठाउँमा कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म लाग्ने गरेको छ । वर्षातले क्षतविक्षत भएका सडक नियमित मर्मत नहुँदा यात्रु गाडी चढ्नै डराउन थालेका छन् भने ठाउँ–ठाउँमा पहिरो र हिलाम्य सडक हुँदा गाडी चलाउनै जोखिम भएको शैलेश्वरी यातायात व्यवसायी प्रालिका प्रमुख प्रेमबहादुर रावलले बताउनुभयो ।

वर्षा र हिमपातले यहाँका तल्कोट, मुडभारा, फलेडी, पूर्वेबगरलगायतका सडक बन्द भएका हुन् । यहाँका नागरिकले जोखिम मोलेरै यो सडकमा यात्रा गर्ने गरेका छन्। सडकको अवस्था दयनीय भए पनि मर्मतमा भने कसैको ध्यान नपुगेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीयवासी माया बमले जानकारी दिनुभयो ।

सडक मर्मत नहुँदा बिरामीले समेत सास्ती भोग्नु परेको छ । जिल्लाका ग्रामीण सडकहरु मात्र नभइ, मुख्य राजमार्गको अवस्था झनै दयनीय छ । यहाँका तीन जिल्ला जोड्ने डा। केआइसिं राजमार्गको रडुवामा गएको असोजमा आएको बाढी पहिरोले सडक नै बगाएपछि अहिले अस्थायी रुपमा सडक निर्माण गरी गाडी सञ्चालन गरिँदै आएको छ ।

केआइसिं गाउँपालिकाका स्थानीयवासी बासुदेव जोशीका अनुसार , गाउँमा उव्जाएको साग तरकारी बजारसम्म लैजान सडक नभएका कारण किसानले उत्पादन गरेका तरकारी, फलफूल बारीमै कुहिएर नष्ट भएका छन् ।