२०८१ भाद्र २८ शुक्रबार

क्याम्पस प्रशासनबाट नै विद्यार्थीलाई सुरक्षा खतरा, अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन माग

  • २०७८ फागुन ५ बिहीबार

काठमाण्डौं : एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीले आफूहरूलाई सुरक्षा खतरा रहेको बताएका छन् ।

एमबिबिएस प्रथम वर्षमा अध्ययनरत १४ विद्यार्थीले कलेज प्रशासनबाट अभिभावक र आफूहरुमाथि सुरक्षा खतरा रहेको भन्दै अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।

कलेज प्रशासनले लिएको अतिरिक्त शुल्कको विरोधमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत ८१ विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तीमध्ये अग्रंक्तिमा रहेका १४ जना विद्यार्थीले नोबेलमा आफूहरुलाई सुरक्षा खतरा रहेको बताएका हुन् । अरु विद्यार्थी भने पढाइमा फर्किएका छन् ।

‘हिजो अग्रपंतिमा रहेर आन्दोलन गरेका विद्यार्थी र अभिभावकलाई नेता बन्न खोज्ने हेरौंला भन्दै धम्की आइरहेको छ’ एक विद्यार्थीले भने, ‘असुरक्षित भएर पढ्न सक्दैनौं, सरकारले कतै सारिदेओस् ।’

उनीहरूले कलेज स्थानान्तरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर आग्रह गरेका थिए । प्रधानमन्त्रीबाट मौखिक आश्वासन पाएको उनीहरूले बताएका छन् ।

विद्यार्थीले स्थानान्तरणका लागि माघ ७ गते शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए । मन्त्रालयले सुनुवाइ नगरेपछि माघ १७ गते चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका थिए ।

‘अभिभावकलाई धम्कीपूर्ण फोन आएका छन्, हामीलाई पनि आइरहेका छन्’ अर्का विद्यार्थीले भने, ‘नोबेलमा हामीलाई सुरक्षा थ्रेट छ, अन्यन्त्र सारिदेऊ भनेर धाइरहेका छौं ।’

गत पुस पहिलो सातादेखि नोबेलमा एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको छ । तर पुस १४ गते अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रशासनले कक्षाबाट निकालेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा कलेजमा तोडफोड पनि भएको थियो ।

होस्टेल अनिवार्य

कलेजले लिने अतिरिक्त शुल्क खारेज गर्नुपर्ने र होस्टल ऐच्छिक गर्नुपर्ने मागसहित नोबेलमा एमबीबीएस अध्ययन गर्न भर्ना भएका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।