सिन्धुली । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । सूर्यको उपासना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकिएको हो । सिन्धुलीको ग्वाङ खोलाको किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए । छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ पछि भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । ग्वाङ खोलाको किनारमा भक्तजनहरूको घुइँचो लागेको थियो ।
पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले यो पर्व मनाइन्छ । सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । केही समय अघिसम्म तराई जिल्लामा मात्र मनाउने गरिएको छठ पर्व अहिले सिन्धुलीको पहाडी जिल्लामा समेत मनाउन थालिएको छ । कात्तिक शुक्ल पक्ष षष्ठीको छठी माईको पूजा अर्चना गरी मनाइने यस पर्वमा सबै जना एकै ठाउँमा भेला भएर छठ पर्व मनाउने गरिन्छ ।
तपाइँको प्रतिक्रीया