२०८१ चैत ३ सोमबार

सुन जाँच पास गराउने विमानस्थल भन्सारका सबै कर्मचारीलाई कारवाही गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

  • admin २०८० श्रावाण ४ बिहीबार

काठमाडौं । प्रधानमन्त्री कार्यालयले भन्सारबाट तस्करीको सुन पास गराउन संलग्न सबै कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले झण्डै १०० किलो सुन त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पास गराउन संलग्न सबैमाथि कारबाही गर्ने निर्देशन दिएको हो । प्रधानमन्त्रीको निर्देशन पछि भन्सार विभागले कर्मचारीहरुलाई कारवाहीको तयारी गरेको बताइएको छ ।

बुधबार विमानस्थल भन्सारबाट जाँच पास भएर विमानस्थलबाट बाहिर निस्के लगत्तै राजश्व अनुसन्धानको टोलीले एक अर्ब रुपैयाँ बराबरको करिब १ सय केजी सुन बरामद गरेको थियो ।

विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न सबैकमाथि कारबाहीको तयारी भइरहेको बताए । तत्काल निलम्बन गरेर उनीहरुमाथि छानबिन गरिने उनले जनाए । भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे छानबिन गर्न समिति बनाएको छ । भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन गरिएको विभागले जनाएको छ ।

पौडेलले त्यति ठूलो परिमाणमा तस्करीको सुन कसरी जाँचपास भयो भन्नेबारे अनुसन्धान अघि बढाइएको जानकारी दिए ।