२०८१ माघ २५ शुक्रबार

एमाले अध्यक्ष ओली र कम्बोडियाका प्रधानमन्त्री सेनबीच भेटवार्ता

  • admin २०८० श्रावाण ६ शनिवार

काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच आज कम्बोडियामा भेटवार्ता भएको छ ।

कम्बोडिया भ्रमणमा रहेका अध्यक्ष ओली र प्रधानमन्त्री सेनबीच राजधानी नोम्पेनमा भेटवार्ता भएको हो ।

साथै, कम्बोडियाका प्रधानमन्त्री सेनले अध्यक्ष ओलीका साथै २२ जना वरिष्ठ राजनीतिज्ञसँग पनि संयुक्त भेटघाट गरेका छन् ।

सो भेटमा प्रधानमन्त्री सेनले विभिन्न देशबाट निर्वाचन पर्यवेक्षणमा भाग लिन आफ्नो देशमा आएका उच्चस्तरीय प्रतिनिधिहरूलाई क्याम्बोडियाको विगतको द्वन्द्वग्रस्त अवस्था, शान्ति प्रक्रिया, विगतका सात वटा निर्वाचन आदिका विषयमा जानकारी गराएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री सेनले अध्यक्ष ओली आफ्नो नजिकको मित्र रहेको र निर्वाचन पर्यवेक्षणका लागि आइदिएकोमा कृतज्ञता प्रकट गर्दै केही कुरा राखिदिन अनुरोध गरेका थिए ।

धानमन्त्री सेनले प्रदान गरेको सो अवसरमा अध्यक्ष ओलीले निमन्त्रणाका लागि धन्यवाद दिँदै आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न हुन सकोस् भनी शुभकामना व्यक्त गरे ।

त्यसक्रममा अमेरिकी कांग्रेस सदस्य, मलेसियाका सभामुख तथा कोलम्बिया, श्रीलंका र नाइजेरियाका पूर्वराष्ट्रपतिहरूले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए । यस्तै, रोमानिया, फ्रान्स, न्युजिल्याण्ड, इण्डोनेशिया, दक्षिण कोरिया, जापान, बंगलादेश, लेवनान, पाकिस्तान, अजरवैजान, टर्की, रस्सिया, फिलिपिन्सलगायत देशका सांसदहरू र नेताहरूले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

क्याम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि संसारभरका ६५ देशका राजनीतिका दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ । यसका अलावा १०० भन्दा बढी अन्तर्राष्टिय सञ्चार माध्यमहरू पनि सहभागी छन् ।

अध्यक्ष ओलीले आजै दिउँसो त्यहाँ आयोजना हुने शान्ति र लोकतन्त्रका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी, आज साँझ ओलीले त्यहाँका उपप्रधानमन्त्री तथा परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रीद्वारा आयोजित स्वागत भोजमा सहभागिता जनाउनेछन् ।

अध्यक्ष ओली कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि गत असार २ गते राति कम्बोडिया गएका थिए । उनी साउन ८ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।