काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत आवासीय घर कर्जाको सीमा बढाएको छ ।
आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पुर्याइने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
त्यस्तै, नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तीमा एक प्रतिशत थप ब्याज दिने व्यवस्थालाई राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।
चालु आर्थिक वर्षमा वित्तीय तथा मौद्रिक क्षेत्र सुधारका लागि विभिन्न कानूनी प्रक्रिया संशोधन तथा सुधारका नीति लिइने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षणको काम चुस्त बनाउन विभिन्न नीति, ऐन, नियमावली तथा निर्देशिकामा संशोधन गरिने जनाइएको छ ।
त्यस्तै, प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुको कर्जा पुनरसंरचना लगायतका व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्नु पर्ने उपाय र प्रकृयालाई समावेश गरी ‘स्ट्रेस्ड लोन रिजोलुसन फ्रेमवर्क’ जारी गरिने राष्ट्र बैंकको भनाइ छ ।
तपाइँको प्रतिक्रीया