काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ । यो आदेशसंगै अब थापाको मुख्यमन्त्रीको पद गुमेको छ । अदालतले नयाँ सरकार गठनका लागि परमादेश दिँदै साउन १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रकृया प्रारम्भ गर्न पनि अदालतले भनेको छ ।
कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरिएपछि सो नियुक्ति असंवैधानिक रहेको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा असार २२ गते परमादेश माग गर्दै निवेदन दिनुभएको थियो । साथै उहाँले थापाको नियुक्ति बदर गर्न माग गर्नुभएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले रिट निवेदक कार्कीको पक्षमा फैसला गर्दै सरकार गठनका क्रममा सभामुखको समेत हस्ताक्षर प्रयोग हुनुलाई असंवैधानिक भनेको छ । सोही हस्ताक्षरको आधारमा प्रदेश प्रमुख पर्शराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
कार्कीले सर्वोच्चमा आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश समेत माग गर्नुभएको थियो तर उहाँलाई नियुक्त गर्ने गरी सर्वोच्चबाट कुनै किसिमको आदेश भएन ।
नेपालको संविधानको धारा १६८ को (२) बमोजिम सरकार गठनको प्रकृया अघि बढाउन सर्वोच्चले आदेश दिएको छ । अन्यथा सोही धाराको (३) बमोजिम ठूलो दलको हैसियतले नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुन सक्ने देखिएको छ ।
तपाइँको प्रतिक्रीया