२०८१ भाद्र २४ सोमबार

अस्ट्रेलियामा एकैपटक ५१ ह्वेल मारिए, बचाउँदा पनि फेरि सबै पानी बाहिर निस्किएका थिए

  • admin २०८० श्रावाण ११ बिहीबार

अस्ट्रेलिया / अस्ट्रेलियामा ५१ वटा ह्वेल माछालाई धेरै पीडा नहोस् भनेर मारिएको छ । सामूहिक रूपमा पानी बाहिर निस्किएपछि ती ह्वेलहरू छटपटाइरहेका थिए ।

सुरुमा सबै ह्वेललाई बचाइएता पनि फेरि ह्वेलहरू पानी बाहिर नै आएपछि धेरै पीडा नहोस् भनेर ५१ पाइलट ह्वेलहरू मारिएको सीएनएनले जनाएको छ ।

२ सय ५० बढी स्वयंसेवक, पशु चिकित्सक र सामुद्रिक जीवन विशेषज्ञहरू सम्मिलित एउटा टोलीले ह्वेलहरूलाई उद्धार गरेर पानीमै लगेका थिए । फेरि उनीहरू पानी बाहिर नै आएपछि पीडामा थिए र बाँच्नसक्ने अवस्थामा थिएनन् ।

त्यसपछि ती ह्वेलहरू ‘युथनाइज’ गर्नुबाहेक उत्तम विकल्प अरु केही नभएको विज्ञ बताउँछन् । ह्वेललाई पीडा नदिई मार्ने कार्यलाई युथनाइज भनिन्छ । ह्वेलहरू समुद्र बाहिर जाने कार्यलाई स्ट्रान्डिङ भन्ने गरिन्छ । किन ह्वेलहरू यसरी समुद्रबाहिर जान्छन् यसको कारण राम्रोसँग खुल्न सकेको छैन ।
वन्यजन्तु अनुसन्धानकर्ता भेनेसा पिरोटाका अनुसार ह्वेलहरू शिकारीबाट बच्न पानीबाहिर निस्किएको हुन सक्छन् । पाइलट ह्वेलहरू बलियो सामाजिक बन्धनको लागि प्रख्यात छन् । जब एउटा ह्वेल समुद्रबाट बाहिर निस्कन्छ त्यसपछि बाँकी ह्वेलले पनि सोही कार्य पछ्याउँछन् ।