२०८१ असोज २८ सोमबार

एमाले अध्यक्ष ओलीलाई भेटेपछि कांग्रेस सांसद सुनिल शर्माले भनेः छिट्टै कांग्रेस-एमालेको सरकार बन्छ

  • admin २०८० श्रावाण २८ आइतबार

काठमाडौं, २८ साउन । प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

अध्यक्ष ओली निवास बोलकोट पुगेर उनले ओलीसँग भेट गरेका हुन् । अध्यक्ष ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद शर्माले निकट भविष्यमा कांग्रेस र एमालेको सरकार बन्ने दाबी समेत गरेका छन् ।

सांसद शर्माले अध्यक्ष ओलीसँग देशको पछिल्लो राजनीतिक घटनाक्रम बारेमा छलफल गरेको र दुई पार्टी मिलेर सरकार बनाउने विषयमा कुराकानी भएको बताए ।

सांसद शर्माले आफूलाई विना कारण वर्तमान सरकारले पक्राउ गरेर जेलमा हालेको भन्दै सरकारको काम कारबाहीप्रति चर्को आलोचना गरे । ‘हामी जतिको सांसदलाई विना वारेन्ट (पूर्जी) घरबाट पक्रेर कस्टडीमा लगेर हाल्ने भन्ने कुरा तपाईले सामान्य लिनु भएको छ ? तपाईको सुरक्षा कहाँबाट हुन्छ ? अनि यस्तो आंतककारी प्रधानमन्त्री, यस्तो आंतककारी गृहमन्त्रीले एक मिनेट बस्ने अधिकार छ यहाँ ? खासमा प्राइममिनिस्टरले राजीनामा दिनुपर्छ । उहाँसँग अलिकति नैतिकता छ भने अहिले राजीनामा दिनुपर्छ ।’ शर्माले भने ।

उनले सत्तामा छु भन्दैमा जे पनि गर्न पाइन्छ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रश्न समेत गरे । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा माफी माग्नु पर्ने र पदबाट राजीनामा दिनुपर्ने बताए । सांसद शर्माले गृहमन्त्री श्रेष्ठले माफी नमागे आफू संसद बैठकमै धर्नामा बस्ने पनि बताए ।