२०८१ चैत ३ सोमबार

सुन गालेको अपडेट : ६० किलो ७१६ ग्राममा झर्‍यो तौल

  • admin २०८० श्रावाण ३० मङ्गलबार

काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले भन्सार कार्यालयबाहिरबाट बरामद भएको सुन ६० किलो ७१६ ग्राम रहेको जनाएको छ ।

आज मंगलबार महाशाखामा सुनलाई पूर्णरुपमा गाल्दै जर्ती निकालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल भएको हो ।

सुन गालिएपछि महाशाखाका निर्देशक थानेश्वर आचार्यले सुन तस्करी काण्डमा टक्सारमा ल्याउदा १५५ किलो भएकोमा ब्रेक–शू र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको र गालेपछि ६० किलो ७१६ ग्राम तौल आएको जानकारी दिए ।

उनले गालिएका सुनलाई ३४ वटा बिस्कुट बनाइएको र जर्ती ७३ ग्राम निस्किएको बताए । सुन गालिएसँगै अब गुणस्तर परीक्षण हुने उनको भनाइ छ ।

साउन तीन गते राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक–शू’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक–शू’ टक्सार महाशाखामा राखिएको थियो ।

सुन तस्करी प्रकरणको सिआइबीले अनुसन्धान गरिरहेको छ ।