काठमाडौं, ३ भदौ । नवौँ संस्करणको महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज स्पेन र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा हुने फाइनल खेल नेपाल समय अनुसार दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।
स्पेन र इङ्ल्यान्ड दुवै पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन् ।
गत बुधवार भएको सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको थियो भने स्पेन स्वीडेनलाई हराउँदै फाइनलमा पुगेको थियो ।
यस पटक महिला विश्वकपले नयाँ विजेता पाउने छ । महिला विश्वकपमा अहिलेसम्म सबैभन्दा बढी अमेरिका (१९९१, १९९९, २०१५ र २०१९)ले चार पटक उपाधि जितेको छ भने जर्मनी (२००३ र २००७) ले दुई पटक जितेको छ ।
यसैगरी, नर्वे (१९९५) र जापन (२०११)ले एक/एक पटक महिला विश्वकपको उपाधि जितेको छ ।
तपाइँको प्रतिक्रीया