२०८१ श्रावाण २ बुधबार

मेस्सीको कप्तानीमा रहेको मियामीले जित्यो लिग कप

  • admin २०८० भाद्र ३ आइतबार

काठमाडौं, ३ भदौ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग कप २०२३ को उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो ।

खेलको २३औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मियामीलाई उपाधितर्फ लम्काएका थिए । तर नाशभिलका लागि ५७औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक ट्रेन्ट क्यालेन्डले बचाएका थिए । मियामीका भिक्टर उजोआले गरेको पाँचौ प्रहार नाशभिलका गोलरक्षक एलिएट पानिचोले बचाउँदा खेलको निर्णय सडन डेथबाट लिनुपरेको थियो । एजेन्सी