चारदेशीय महिला टी-२० सिरिजमा नेपाल मलेसियासँग पराजित भए पनि फाइनल प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको हो । तर, हारका बाबजुत पनि नेपाल नेट रनरेटका आधारमा फाइनल प्रवेश गरेको हो । नेट रनरेटमा हङकङ मलेसियालाई नेपालले पछि पार्यो ।
नेपालले दिएको ८५ रनको लक्ष्य घरेलु टोली मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । मलेसियाका लागि ऐन्ना हसिमले अविजित ३७ र माहिरा स्मालइलले २१ रन जोडे ।
नेपालका लागि पूजा महतो, कविता जोशी र सीता राना मगरले समान एक-एक विकेट लिए ।
मलेसियाको बायोमास खेल मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल १८ ओभरमा घटाइएपछि मलेसियाले ८५ रनको लक्ष्य पाएको थियो ।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २३ रन जोडिन् । यस्तै, इन्दु बर्माले २०, काजल श्रेष्ठले १८ र सीता राना मगरले ९ रनको योगदान दिए ।
नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको नेपाल तेस्रो खेलमा भने मलेसियासँग पराजित हुन पुगेको हो ।
नेपालले अब उपाधिका लागि शनिबार हङकङको सामना गर्नेछ । मलेसियाले भने तेस्रो स्थानका लागि कुवेतसँग खेल्नेछ ।
तपाइँको प्रतिक्रीया