२०८१ श्रावाण २ बुधबार

किस विवाद : स्पेन फुटबल प्रमुख लुइस रुबियालेस निलम्बित

  • admin २०८० भाद्र १० आइतबार

काठमाडौं, १० भदौ । अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा)ले शनिबार स्पेनको फुटबल संघका प्रमुख लुइस रुबियालेसलाई पदबाट निलम्बन गरेको छ ।

फिफाले अनुशासन समितिबाट समीक्षा हुन बाँकी रहेकाले अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । फिफाले जारी गरेको विज्ञप्ति अनुसार रुबियालेसलाई सबै गतिविधिबाट ९० दिनको लागि निलम्बन गरिएको हो ।

हालै अस्ट्रेलियामा सम्पन्न फिफा महिला विश्वकपमा स्पनेले पहिलो पटक महिला विश्वकप जितेपछि प्रमुख रुबियालेसले स्पेनकी फुटबल खेलाडी जेनिफर हर्मोसोसँग जितको खुसी मनाउँदै ओठमा किस गरेका थिए र अन्य अश्लील इशाराहरू पनि गरेका थिए ।

किस विवादको सोही विषयलाई लिएर फिफाले रुबियालेसलाई निलम्बन गरेको हो । हर्मोसोले किस अवांछित भएको र रुबियालेस प्रमुख रहँदासम्म खेल्न अस्वीकार गरेको बताउँदै आएकी थिइन् । उक्त घटनाको विषयमा चौतर्फी आलोचना भएपछि रुबियालेसले माफी पनि मागेका थिए ।