२०८१ माघ २५ शुक्रबार

मेलबर्न स्थित एएनएमसीको परिसरमा रहेका मूर्तीहरुको प्राण प्रतिष्ठाको कार्य भव्यताका साथ सम्पन्न

  • admin २०८० भाद्र १२ मङ्गलबार

अस्ट्रेलिया । अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (ANMC) ले हालको संरचनाको नवीकरण गर्दै परिसर भित्र रहेका मुर्तीहरुको प्राण प्रतिष्ठा एबम् मुर्ती स्थापना बिशेष कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

गएको २५, २६ र २७ अगस्टका दिन बिहान ९ बजे देखी अपरान्ह ५ बजे सम्म 100 Duncans Lane, Diggers Rest को परिसर भित्र हिन्दू देवताका मुर्तिहरूलाई जीवन शक्तिसहित अभिषेक गर्ने ऐतिहासिक र महत्वपूर्ण कार्यक्रम थियो। कार्यक्रममा भिक्टोरियामा रहेका नेपाली समुदाय र अन्य बहुसांस्कृतिक समुदाएका सयौं पाहुना, स्वयंसेवक, सामुदायिक अगुवा र सदस्यहरुको सहभागिता रहेको थियो ।

नेपाली संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने एकमात्र उद्देश्यका साथ २०१४ मा स्थापित गैर-लाभकारी संस्था नेपाली सामुदायिक केन्द्रले यो कार्यक्रम आयोजना गरेको थियो। संस्थाले हिन्दू मन्दिर, बौद्ध मन्दिर र बहुउद्देश्यीय हल सहितको नेपाली सामुदायिक केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ । यसले भर्खरै भिक्टोरियन राज्य सरकारको आर्थिक सहयोगमा गुरु योजनाको पहिलो चरण पूरा गरेको छ।

२३ अगस्टमा कलश यात्राबाट सुरु भएको प्राणप्रतिष्ठा २७ अगस्टका दिन औपचारिक कार्यक्रम, मूर्तिको औपचारिक उद्घाटन र आरती गरी समापन भएको थियो । तीन दिनसम्म चलेको उक्त कार्यक्रममा २ हजारभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मेलबर्नका पाँच गुरु शंकर गौतम, सूर्यप्रसाद दाहाल, नारणप्रसाद ज्ञवाली, नारायण दाहाल र विमल आचार्यले अनुष्ठानको भाग सञ्चालन गरेका थिए । अन्तिम दिन गुरु रामप्रसाद रिजाल पनि टोलीमा सामेल भएका थिए ।