काठमाडौँ । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण ५ असोजबाट सुरु हुने भएको छ । निर्माण युनिटले बुधबार राजधानीमा एक पत्रकार भेटघाट गर्दै कार्यक्रमको नयाँ सिजन र बिभिन्न पक्षबारे जानकारी दिएको हो ।
शो को यो सिजनमा पनि अघिल्ला ४ सिजनमा कोच रहेका प्रमोद खरेलले निरन्तरता पाएका छन् । यसैगरी गत वर्षदेखि भ्वाइसमा अनुबन्धित राजेशपायल राई यो सिजनमा पनि दोहोरिएका छन् । यसअघि ‘द भ्वाइस किड्स’ मा कोचमा रहेका गायिका मिलन नेवार यो सिजनमा कोचमा अनुबन्धित छिन् । सुगम संगीतका चर्चित गायक उदय सोताङ पनि अहिले कोचमा अटाएका छन् ।
यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन्। अडिसनमा नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले सहभागिता जनाएका थिए।
हिमालय टेलिभिजनले विश्वका नम्बर एक रियालिटी शोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । टेलिभिजनले भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार लगायतका रियालिटी शो प्रसारण समेत गरिरहेको छ ।
तपाइँको प्रतिक्रीया