२०८१ माघ २५ शुक्रबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

  • admin २०८० असोज २० शनिवार

काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् ।

विश्वासको मत लिनुअघि नै आफूले प्रदेश प्रमुख समक्ष राजीनामा दिएको जानकारी उनले सदनलाई दिएका छन् ।

मध्यावधि निर्वाचनमा जान नदिन एमाले त्याग गर्न तयार रहेको भन्दै उनले पदबाट राजीनामा दिएको बताएका छन् ।

विश्वासको मत लिनुअघि आज बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार उनले विश्वासको मत नलिई स्वत:स्फूर्त राजीनामा दिएका हुन् ।

नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन रहेको र त्यसैलाई मध्येनजर गर्दै एमालेले कार्कीको राजीनामा गराएको बुझिएको छ ।