काठमाडौँ । खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मूल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । ग्रान्ड फिनालेका लागि ५मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौँ आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । भर्चुअल माध्यमबाट ग्रान्ड फिनालेमा उनले गोठालो जाँदा लाएको माया बोलको गीत प्रस्तुत गरेकी थिइन् । उनी कार्यक्रममा उपस्थित नभएपछि युरोपकै सन्तोष भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट ग्रहण गरी दिएका थिए ।
“प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा फस्ट रनर अप जापानका कर्मादोङ तामाङ बने । उनले नगद २ लाख र ट्रफी प्राप्त गरे । कर्मादोङले ग्रान्ड फिनालेमा कर्मादोङ तामाङले तातोपानी बजार बोलको तामाङ सेलो र आफैले सिर्जना गरेको उत्कृष्ट गीत प्रस्तुत गरेका थिए ।
यसैगरी सेकेन्ड रनर अपको रूपमा सुवासचन्द्र पुन मगर रहे । पोर्चुगलका पुन मगरले तिम्रो न्यास्रो आउँछ निरमाया र फूलको थुङ्गा हौ कि भन्ने बोलको गीत प्रस्तुत गरेका थिए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, ग्रान्ड फिनालेमा विष्णु क्षत्री र गुना मगर निसुले पनि प्रतिस्पर्धा गरेका थिए ।
एनआरएन द सिंगरमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवेदन परेको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र नेपालीसँग जोडिने रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा व्यक्त गरे । पर्यटनको पहिलो आधार नै संस्कृति भएको बताउँदै संसारको पर्यटनको केन्द्र रहेको बताए । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै यसबाट नेपालले लाभ लिनका लागि एनआरएनले सहयोग गर्नुपर्नेमा जोड दिए ।
तपाइँको प्रतिक्रीया