मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्री–वितरण रोक्न भन्दै प्राधिकरणले पटक–पटक एमडीएमएस लागू गरिएको घोषणा गरेपनि अमुक शक्तिको दवावमा पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पटक पटक समय थप गरिएको भए पनि यसपालि अन्तिम पटकका लागि मात्र भनेर समय थपिएको दाबी गरे ।
गएको बैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले जेठ १ गतेदेखि पूर्णरूपमा लागू गर्ने जनाएको थियो ।
यसपटक अन्तिम नै भएको भन्दै अध्यक्ष खनालले भने, ‘हामीले १५ दिनको समय दिएका छौँ । यो अवधिभित्र पनि मोबाइल रजिष्टर गरिएन भने अब बन्द गछौँ ।’
प्राधिकरणले यसअघि २०७८ साउन र २०७९ सालको भदौमा पनि एमडीएमएस प्रणाली आंशिक रूपमा लागू गरेको थियो । त्यसपछि २०७९ पुस १५ गते भने पूर्णरूपमा प्रणाली लागू गर्ने भनिएको थियो । तर वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकले ल्याएका मोबाइल फोनको पनि कर र भन्सार शुल्क तिर्नैपर्ने व्यवस्थाका कारण यसको व्यापक विरोध भएपछि रोकिएको थियो ।
प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुन्छन् । बाँकी सेट दूरसञ्चार प्राधिकरणको वेबसाइटमा गएर त्यहाँ भएको सूचना अनुसार दर्ता गराउनुपर्छ ।
तपाइँको प्रतिक्रीया