२०८२ जेठ ७ मङ्गलबार

सर्वदलीय बैठक: एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता

  • admin २०८० कातिर्क २१ मङ्गलबार

काठमाडौ । प्रमुख राजनीतिक दलहरूले लोकतन्त्रलाई सुदृढीकरणका लागि एकताबद्व भएर अगाडि बढ्ने निर्णय गरेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले आपसी मतभेद भएपनि एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिवद्ध भएर अगाडि बढ्ने दलहरूबीच सहमति भएको हो । राजनीतिक दलका शीर्ष नेतृत्वले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

बैठकमा सहभागी दलका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि भइरहेका आक्रमणको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई सबल बनाउन आगामी दिनमा बुहपक्षीय र द्विपक्षीय छलफल गर्दै अघि बढ्ने सहमति भएको नेताहरूले जानकारी दिएका छन् ।

शीर्ष नेताले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई प्रभावकारी ढङ्गबाट राहत र उद्धारका काम अगाडि बढाउन सरकारलाई सुझाव दिएका थिए । उनीहरूले पछिल्ले समय सामाजिक सञ्जालबाट संविधान, लोकतन्त्र, राजनीतिक प्रणाली, नेतृत्वकाविरुद्ध भइरहेका दुष्प्रचारबारे सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।

बैठकमा प्रधानमन्त्री दाहालले सरकार विद्यमान कानुनअनुसार सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गरेर मर्यादित समाज निर्माण गर्न लागिपरेको धारणा राखे ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताको उपस्थिति थियो ।