काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले राहत वितरण गरेको छ। एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरी नेतृत्वको टोलीले भूकम्प पीडितहरूलाई राहत सामाग्री वितरण गरेको हो।
एनआरएनए अष्ट्रेलियाले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–४ गोलचौरका भूकम्प प्रभावित १०३ घरधुरीलाई १०० थान त्रिपाल, १२८ थान डबल साइजको ब्ल्याङकेट, पिफर्म ४०० मिटर, १०० थान धोती, १०० थान पछेउरा, १० बोरा चामल र १५ काटुन चाउचाउ लगायतका राहत सामग्री हस्तान्तरण गरेको हो।
राहत वितरण कार्यक्रममा सानीभेरी गाउँपालिका वडा नं ४ का अध्यक्ष मनोज वली एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरी र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष पुरीले अष्ट्रेलियामा बस्ने नेपाली दाजुभाई दिदीबहिनीको संकलन भएको सहयोग प्रत्यक्ष भूकम्पपीडितलाई वितरण गर्न पाउँदा खुसी लागेको बताए। उनले यस विपतको घडीमा पीडितको घाउमा थोरै भए पनि मलम लगाउने एनआरएनए अष्ट्रेलियाको प्रयास सफल भएको बताए। उनले एनआरएनए अष्ट्रेलियाले प्रभावितका लागि थप रकम संकलन गरिरहेको जानकारी दिए।
साथै सोही अवसरमा एनआरएनए साउथ अष्ट्रेलियाका युवा संयोजक सरोज बमको नेतृत्वमा रेजिज यजकियर एडिलेडमा काम गर्ने नेपालीहरूले जम्मा गरेर पठाएको ४७ हजार ९०२ रुपैयाँको राहत सामाग्री पनि भूकम्प प्रभावितलाई हस्तान्तरण गरिएको थियो।
जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर १७ कात्तिकमा गएको भूकम्पमा परी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ भने हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन्।
तपाइँको प्रतिक्रीया