एडिलेड । शनिवार सम्पन्न अभिभावक भेलाबाट एडिलेड नेपाली विद्यालयको आगामी दुइ बर्षका लागि नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । बर्ष २०२४- २०२६ का लागि व्यवस्थापन समिति गठन गरिएको हो ।
एडिलेड नेपाली विद्यालयले २०१५ देखि नै एथनिकल स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियामा दर्ता भै निरन्तर रुपमा एडिलेडमा रहेका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा तथा संस्कृतिको पठन पाठन गराउदै आएको छ । एडिलेड नेपाली समाज अन्तर्गत संचालित विद्यालयका लागि समाजको विधान तथा एथ्नीक स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियाको नियम बमोजिम गठित व्यवस्थापन समितिमा बिद्यालयको प्राचार्य एलिजा ढकाल, बिद्यालय प्रशासक सन्दिप बस्नेत, सहायक प्राचार्य रन्जिता सापकोटा, सदस्यहरुमा लक्ष्मी सापकोटा आचार्य, सुधा किरण सापकोटा, हिमाल राज कडेल, युवराज पहाडी, सन्तोष गौतम, प्रदिप निरौला, राम प्रसाद सिम्खडा रहेका छन् । भने रिक्त थप सदस्य आगामी बैठकबाट थप गरिने जनाईएको छ ।
एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेलको अध्यक्षतामा भएको अभिभावक भेलामा विद्यालयकी संस्थापक प्राचार्य तथा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्का, समाजका जनसम्पर्क अधिकारी सुरेन्द्र रेग्मी लगायतका बक्ताहरुले विद्यालय संचालनको विविध पक्षमा प्रकाश पारेका थिए । भेलामा विद्यालयकी प्राचार्य लक्ष्मी प्राचार्य सापकोटा र विद्यालय प्रशासक सुधा किरण सापकोटाबाट विद्यालयको गत अवधिको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
बिद्यालयमा हाल १२० जना भन्दा बढि बिद्यार्थी अध्ययनरत रहेका छन् । गत बर्षबाट उमेर समुह अनुसार तिनबटा कक्षा संचालन हुदै आएको विद्यालयमा प्रत्येक शनिवार बिहान १०-१२.३० बजे सम्म स्थानिय सरकारी स्वामित्व रहेको एस्कट पार्क प्राइमेरी स्कुलमा संचालन हुने गरेको छ ।
तपाइँको प्रतिक्रीया