२०८१ माघ २५ शुक्रबार

अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने

  • admin २०८० मंसिर २८ बिहीबार

काठमाडौं– रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ।
बिहीवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन क्रिकेट रंगशाला फागुन एक गतेबाट प्रतियोगिता खेलाउनका लागि तयार हुने भएको हो।

सो रंगशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले निर्माण गरिरहेको छ। पत्रकार सम्मेलनमा बोल्दै एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले निर्माणधीन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए। उनले मैदानमा सात वटा पिच रहेको र फागुन एक गतेबाट प्रतियोगिताका लागि योग्य हुने स्पष्ट पारे।
रंगशाला निर्माणको समयसीमा सकिन ४ महिना बाँकी रहँदै निर्माण सम्पन्न भएको हो। रंगशाला वैशाखसम्ममा निर्माण गरिने लक्ष्य राखिएको थियो। उक्त रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरु निर्माणको काम माघ महिनाबाट सुरु गर्ने पनि निर्देशक कुँवरले बताए।
सबै रुमहरुको काम वैशाखसम्म सकिसक्ने बताए। उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइने बताए। उनले आगामी दशैं सम्ममा रंगशाको सम्पूर्ण काम पूरा हुने प्रतिबद्धता जनाए।

उनले भने, ‘क्रिकेट रंगशाला बनाउने विश्वास आज अलिकति पूरा भएको छ। अहिलेसम्म हामीले ग्राउण्ड चाहीँ इन्टरनेशनल स्टाइलको, त्यहाँ हुनुपर्ने मापदण्डमा कुनै कमी कमजोरी नराखिकन ग्राउण्ड तयार भइसकेको छ, सात वटा पिच बनाइएको छ। फागुन एक गतेबाट टुर्नामेण्टको लागि हामी तयार छौं। तपाईंहरु टुर्नामेण्ट लिएर आउनुस्। मैदान तयार छ। अबको योजना पहिलो चरणमा मैदान बनाउने भनेका थियौं। मैदान बनेको छ। वैशाखसम्म मैदान बनाउने घोषणा थियो तर ४ महिनाअघि नै तयार भएको छ। माघ १ गतेबाट पेभेलियन, ड्रेस चेन्जिङ रुमहरु बनाउन शुरु गर्नेछौं। वैशाखसम्म हामी सबै बनाउने छौं। ५ हजार क्षमताको सिट आगामी दशैंसम्म र ५ हजार क्षमताको माटो र दुबो बिछ्याएर तयार गर्ने योजना छ। आगामी दशैं सम्ममा।

क्रिकेट रंगशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। अहिलेसम्म ५ करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ। नेपालमा क्रिकेटको लोकप्रियता बढीरहेको समयमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नु सुखद् पक्ष हो। यस किसिमको काम अन्य निजी क्षेत्रहरुले पनि अनुशरण गर्नुपर्ने आवश्यकता छ।
साथै खेलकुदमा लगामी गर्ने निजी क्षेत्रहरुलाई सबैले प्रोत्साहन गर्नसके समग्र खेलकुदको विकासमा सहयोग पुग्नेमा दुई मत छैन।