२०८१ माघ ६ आइतबार

बालकुमारी घटना : मृतकका परिवारलाई १०/१० लाख दिने मन्त्रिपरिषद्को निर्णय

  • admin २०८० पौष १४ शनिवार

काठमाडौं । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सो बापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने निर्णय भएको उनले बताइन् । उनका अनुसार बैठकले शुक्रबारको घटनाबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ ।

घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने र भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा निकाय र अन्य सम्बद्ध निकायलाई थप सतर्क संयमित तथा प्रभावकारी बनाउने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन् ।