२०८१ माघ ७ सोमबार

भुटानमा पूर्वप्रधानमन्त्री तोब्गे नेतृत्वको पार्टीलाई बहुमत

  • admin २०८० पौष २५ बुधबार

काठमाडौं । भुटानमा भएको संसदीय निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले बहुमत प्राप्त गरेको छ ।

भुटानी सरकारी सञ्चारमाध्यमका अनुसार नेशनल एसेम्बलीको कुल ४७ सिटमध्ये पीडीपी ३० स्थानमा विजयी भएको छ भने भुटान टेन्ड्रेल पार्टी (बीटीपी) १७ स्थानमा विजयी भएको छ । तोब्गे हा को साङबेखा क्षेत्रबाट २३ सय ३७ मतका साथ चुनाव जितेका छन्।

दोस्रो चरणको निर्वाचनमा ४७ स्थानका लागि दुई प्रमुख दलहरु पीडीपी र बीटीपीका ९४ उम्मेदवार प्रतिस्पर्धामा थिए । गत नोभेम्बरमा भएको पहिलो चरणको मतदानमा सबैभन्दा बढी मत ल्याउने यी दुई दलबीच दोस्रो तथा अन्तिम चरणको प्रतिस्पर्धा भएको हो । पहिलो चरणको मतदानपछि तीन दल प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

१५ वर्षअघि अर्थात सन् २००८मा प्रजातन्त्र स्थापना गरिएयता भुटानमा भएको यो चौथो संसदीय निर्वाचन हो । तत्कालीन राजा जिग्मे सिंघे वाङचुकले अक्सफोर्ड विश्वविद्यालय पढेका आफ्ना छोरा जिग्मे खेसर नामग्याल वाङचुकलाई राजगद्दी सुम्पिएको दुई वर्षपछि भुटानमा पहिलो संसदीय निर्वाचन भएको थियो । भुटानको जनसंख्या करिब आठ लाख ६ भने करिब ५ लाख मतदाता छन् ।