धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाउनुभएको छ ।
मोटरसाइकल चढेर एक्लै प्रतिष्ठानमा पुगेका मेयर साम्पाङले शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभयो । त्यसपछि उपकुलपतिको कार्यकक्षमा गएर ताला लगाउनुभएको हो ।
कामु उपकुलपति कार्कीले शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन नगरेकाले तालाबन्दी गर्नुपरेको मेयर साम्पाङको भनाइ छ ।
आफूले लगाएको ताला नखोल्न पनि उहाँले चेतावनी दिनुभएको छ । “बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगरून्, आवश्यक परेका वेला म आफैं आएर खोल्छु।” ताला लगाउँदै मेयर साम्पाङले भन्नुभयो ।
बीपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने मेयर साम्पाङको भनाइ थियो ।
उपकुलपतिको कार्यकक्षमा ताला लगाएपछि उहाँ आफ्नो कार्यालयमा फर्किनुभएको थियो ।
बढुवा प्रक्रिया शुरू नभएपछि प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनमा छन् । आकस्मिक कक्ष, ल्याब, एक्स-रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आइतबार ओपीडीको चाबी अस्पताल प्रशासनलाई बुझाएका थिए।
तपाइँको प्रतिक्रीया