अष्ट्रेलिया / नेपाल सरकारले नेपाललाई विदेशी फिल्मलाई छायाङ्कनको गन्तव्यको रुपमा अगाडि बढाउने निर्णय गरिसकेको छ । चलचित्र विकास बोर्डले पनि नेपालमा विदेशी फिल्मको छायांकन बढाउने विषयमा बारम्बार छलफल गरिरहेको पाइन्छ । हरेक वर्ष बजेट र नीति तथा कार्यक्रममा नेपाललाई विदेशी फिल्म छायांकन गन्तव्यका रुपमा विकास गर्ने घोषणा गर्दै आएको छ । तर, त्यो घोषणामा मात्रै सीमित देखिन्छ । छायांकन अनुमति लिन झन्झटिलो प्रक्रिया, बाटोघाटो सहज नहुनु आदि कारणले विदेशी मेकर नेपालमा छायांकन गर्न हच्किरहेका छन् ।तर, विदेशी फिल्महरू भने नेपालसम्म आएर छायांकन गर्नुभन्दा विदेशमै नेपालको नक्कली सेट बनाएर छायांकन गरिरहेका छन् । लियाम निसानको मुख्य भूमिका रहने फिल्म ‘आइस रोड २’को छायांकन अष्ट्रेलीयाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ ।
यो फिल्मले विशेषगरि अरनिको राजमार्ग र बाह्रबिसे रोडको कथा भन्छ । नक्कली नेपाल बनाउनका लागि निर्माताले राम्रै खर्च गरेको देखिन्छ ।
फिल्ममा ‘नेपाल पुलिस’ लेखेर प्रहरीको भ्यान पनि देखाइएको छ । अर्कातिर, दरबाङ फ्रेस हाउस तथा तरकारी पसल लेखिएको देखिन्छ । यस्तै, फिल्मका लागि केही पुलहरू समेत तयार पारिएको छ । एउटा पहेलो रंगको बसमा ‘माउन्ट एभरेष्ट टुर’ समेत लेखिएको छ । सन् २०२१ म रिलिज भएको फिल्म ‘द आइस रोड’को सिरिजको रुपमा तयार भइरहेको यो फिल्मको सेट हेर्दा दुरुस्तै नेपाललाई उतारिएको छ । वालहल्लामा २४ जनवरीसम्म फिल्मको छायांकन गरिनेछ । यसबाट लगभग ६ सय बढी भिक्टोरियनलाई रोजगारी र छायांकनबाट त्यहाँको राज्यको अर्थतन्त्रमा ३० मिलियनभन्दा बढी फाइदा हुने जनाइएको छ । त्यहाँ जम्मा २० वटा घर रहेको जनाइएको छ । ‘आइस रोड २’ एक आइस रोड ड्राइभर (लियाम नीसन)मा आधारित छ, जो आफ्नो भाईको अस्तु सेलाउन सगरमाथाको यात्रामा निस्किएका हुन्छन् ।
अष्ट्रेलीयाको संघीय र राज्य सरकारले यो फिल्मलाई आर्थिक सहायता दिने घोषणा समेत गरेको छ । यसले, अष्ट्रेलीयाको भिक्टोरिया राज्यको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि गरिएको छ ।
नेपालको दृश्य देखाउनका लागि फिल्मका निर्माताले अष्ट्रेलीयामा नक्कली सेट बनाएका छन् । तर, नेपालमा विदेशी फिल्मलाई आकर्षित गर्ने भनिए पनि यस्ता कुराहरू कागजमा मात्र सीमित राखिएको छ । जसलेगर्दा, विदेशी मेकरहरु नेपाल आउन छाडेर अन्य देशमा नक्कली सेट बनाइरहेका छन् ।
तपाइँको प्रतिक्रीया