२०८१ माघ ७ सोमबार

अचार व्यवसायमा व्यस्त एमाले नेतृ शान्ता चौधरी

  • admin २०८० माघ ७ आइतबार

काठमाडौँ । पूर्व सांसद चौधरीले अहिले आफू आत्मनिर्भर हुने नयाँ बाटो रोजेकी छन्– अचार व्यवसाय । राजनितीलाई नै मागीखाने भाडो बनाउने परिपाटीमा नेकपा एमाले नेतृ शान्ता चौधरीले भने अचार उद्योग सञ्चालन गरेकीछन्। आफ्नो आर्थिक आम्दानीको स्रोत नभएकाले शान्ताको अचार उद्योग दर्ता गरी उनले आफनो हातको भेज तथा ननभेजका विभिन्न प्रकारका अचार विक्री गर्दै आएको उनी बताउँछिन्।अचार उद्योगसँगै उनले राजनीतिक गतिविधिलाई पनि एकसाथ अगाडि बढाइरहेकी छन् ।

आफूले घरमा बनाएको अचार देश–विदेशबाट पनि माग आउन थालेपछि उनले यसैलाई आफ्नो आत्मनिर्भरताको बाटो बनाउने निश्चित गरिन् र खोलिन्– शान्ताको अचार उद्योग ।

गत पुस २० गते उनले घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता गरेको अचार उद्योगको कुल पुँजी २० लाख रुपैयाँ छ । स्थिर पुँजी १० लाख र चालु पुँजी १० लाख रुपैयाँ छ ।

दाङमा उद्योग सञ्चालन गर्ने र काठमाडौँमा डिलर राखेर आफ्नो व्यवसाय अगाडि बढाउने उनको उद्देश्य छ । देशभित्र तथा देशबाहिरबाट समेत अचारको माग आइरहेको हेर्दा जनशक्ति थप गर्नुपर्ने देखिए पनि तत्कालका लागि पाँच जना जनशक्तिले काम गर्ने उनले बताइन् ।

आफूले उत्पादन गर्ने अचार स्वादिलो, मिठो र गुणस्तरीय हुने चौधरीको भनाइ छ । केही न केही काम नगरी कसरी बस्ने भनेर पनि आफूले अचार उद्योग खोलेको उनले सुनाइन् । ‘चारपाँच महिना अगाडिदेखि अलि बढी नै बनाउने गर्थें । तर कानुनी मान्यता लिएर वैधानिक रुपमै व्यवसाय गर्नुपर्छ भनेर उद्योग दर्ता गरेको छु,’ उनले भनिन्, ‘खाद्य प्रविधि तथा गुणस्तर विभागबाट पनि अनुमति पाइसकेँ । कानुनी रुपमा मान्यता पाएर उद्योगकै रुपमा अचार बनाउने अवस्थामा आइपुगेका छौँ ।’

चौधरीले आफ्नो उद्योगमा साकाहारी तथा मांसाहारी दुवै प्रकारका गरी झण्डै १२ थरी अचार उत्पादन हुने जानकारी दिइन् । ननभेजतर्फ कुखुराको मासुको अचार, खसीको मासु, भैंसीको मासुको अचार, माछाको अचार गरी ४ प्रकारमा उत्पादन गर्छिन् ।

भेजतर्फ भने मुला, लसुन, कागती, अदुवा, बेसार, मिक्स अचार, तिलको छोप लगायत बिस–बाइस थरी सामग्री प्रयोग गरेर अचार बनाउने उनले जानकारी दिइन् ।