२०८२ बैशाख ८ सोमबार

नेपाल न्युजिल्यान्डसँग पराजित

  • admin २०८० माघ ८ सोमबार

काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डसँग पराजित भएको छ ।

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनाउन सक्यो ।

अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद पनि नेपालले पहिलो पटक न्युजिल्यान्डसँग पराजय भोगेको हो । अर्जुनले ९० रनको अर्धशतकीय पारी खेले ।  शतक बनाउनबाट १० रनले चुकेका उनले १०४ बलमा १२ चौका प्रहार गरे ।

ओपनिङ आएका दीपक वोहोरा आउट भएपछि नेपालको विकेट पतनका श्रृंखला सुरु भएको थियो । त्यसपछि क्रिजमा आएका आकाश त्रिपाठी पनि चल्न सकेनन् । उनी व्यक्तिगत २ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गर्दै नेपालको पारि सम्हाल्ने प्रयास गरेका थिए । कप्तान खनाल ३४ बलमा ३६ रन बनाएर आउट भए । उनले १ छक्का र ५ चौका प्रहार गरेका थिए ।

लगत्तै विकेटकिपर ब्याटर उत्तम मगर खाता खोल्न सकेनन् भने भर गरिएका ब्याटर गुलसन झा २ रन बनाएर आउट भए । अर्जुन कुमाल र सुवास भण्डारीले ४१ बलमा ४३ रनको साझेदारी गर्दै पारि अघि बढाए । तर, आठौं विकेटको रुपमा अर्जुन कुमाल ९० रन बनाएर आउट भएपछि नेपालको आशा समाप्त भएको थियो । कुमाल विश्वकपमा शतक बनाउन असफल भए । उनले १०४ बल फेस गर्दा १२ चौका प्रहार गरेका थिए । टिमको स्कोर २०१ रन पुग्दा आकाश चन्द नवौं विकेटको रुपमा १४ रन बनाएर आउट भएका थिए ।

अन्तिममा सुवास भण्डारी र तिलक भण्डारीले नटआउट पारि खेले पनि हार टार्न पर्याप्त भएन । सुवास ३३ तथा तिलक १७ रनमा नटआउट रहेका थिए ।

न्युजिल्याण्डका लागि मेसन कलार्कले ३ विकेट इवाल्ड श्रेडर ओस्कार र ओस्कार ज्याक्सनले दुई दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०२ रनको बलियो योगफल तयार पारेको थियो । न्युजिल्याण्डका लागि स्नेहिथ रेड्डीले नटआउट १४७ रनको शतकीय पारि खेल्दा ओसकार ज्याकसनले ७५ रन बनाए । यस्तै टम जोन्सले ३३ रन जोड्दा एलेक्स थम्पसनले १३ रन बनाएका थिए ।

नेपालका सुवास भण्डारीले ३ विकेट लिँदा गुलसन झाले २ विकेट हात पारे । यस्तै, दीपेश कँडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक एक विकेट लिए ।