२०८१ माघ ६ आइतबार

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

  • admin २०८० माघ १३ शनिवार

काठमाडौं । दक्षिण अफ्रिकामा जारी रहेको आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्समा स्थान बनाएको छ ।
बफेलो पार्क इस्ट लन्डनमा भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कप्तान देव खनालले महत्वपूर्ण अर्धशतकिय ईनिङ खेले । खनालले ८९ बलमा सात चौकाको सहयोगमा ५८ रन बनाए । खनालले ७३ बलमा सात चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।
आठौं ओभरको पाँचौं बलमा जीवनदान पाएका खनालले अर्धशतक पूरा गरेका हुन् ।
खनालको यू१९ विश्वकपमा यो नै पहिलो अर्धशतक हो । अर्धशतक बनाएका कप्तान खनाल मोहम्मद गजान्फरको बलमा आउट भए ।
पाँचौ ओभरको दोस्रो बलमा नै नेपालले अर्जुन कुमाललाई पहिलो विकेटका रुपमा गुमाएको थियो । टिमको स्कोर २ विकेट गुमाएर १५ रनमा हुँदा क्रिजमा आएका कप्तान खनालले कप्तानी ईनिङ खेले ।
दीपक बोहोराले ४२ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए । आकाश त्रिपाटीले ३९ बलमा १६ रन बनाए ।

अफगानिस्तानका लागि फरिदन दावदजाईले तीन तथा खलिल अहमद र कप्तान नसिर खानले समान दुई दुई विकेट लिए । मोहम्मद गजान्फर, अरब गुलले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४० दशमलब १ ओभरमा अल आउट हुदै १ सय ४५ रन बनाएको थियो ।
अफगानिस्तानका लागि मोहम्मद गजान्फरले २१ बलमा ३७ तथा फरिदन दावदजाईले ६५ बलमा २९ रन बनाए । अफगानिस्तानका कप्तान नसिर खानले ८३ बलमा ३१ रनको महत्वपूर्ण पारी खेले ।
उनले फरिदनसँग मिलेर नवौं विकेटका लागि १ सय ३ बलमा ५५ रनको महत्वपुर्ण साझेदारी गरे । ८८ रनमा ८ विकेट गुमाएको अफगानिस्तानले नवौं विकेटका लागि ५५ रनको साझेदारी भयो ।

नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा दीपक डुम्रेबाट क्याच आउट आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि अर्का तीव्र गतिका बलर आकाश चन्दले पाँच विकेट लिदै नेपाललाई खेलमा हाबी गराएका थिए ।
नेपालका लागि आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चिएर पाँच विकेट लिए । दीपेश कंडेलले दुई तथा गुलसन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान एक एक विकेट लिए ।

यो जितसँगै नेपालले सुपर सिक्समा स्थान पक्का गरेको छ । सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग खेल्ने सम्भावना छ ।